रुस र युक्रेनबीचको वार्ता निष्कर्षविहीन, राजधानीमा खतराको साइरन

काठमाडौं, १७ फागुन । युद्धकाबीच सोमबार भएको रुस र युक्रेनबीचको शान्तिवार्ता निष्कर्षविहीन सकिएको छ ।

युक्रेनमाथि रूसी सेनाको आक्रमण गरेको पाँचौं दिन दुई देशका प्रतिनिधिमण्डलबीच बेलारूसमा ५ घन्टासम्म शान्ति वार्ता भएको थियो।

वार्तामा कुनै सहमति नजुटेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

गत बिहीबारदेखि रुसले युक्रेनमाथि आक्रमण गरेको छ । वार्तामा युक्रेनले रुसी सेना फिर्ता हुनुपर्ने सर्त राखेको जनाइएको छ । उसले क्रिमिया र डोनबास क्षेत्रबाट रुसी सेना निसर्त फिर्ता हुनुपर्ने माग राखेको छ । तर, रुस यो मागमा सहमत नभएको बताइएको छ ।

वार्ताअघि युक्रेनी राष्ट्रपति भोलोदोमिर जेनेलिस्कीले आफ्नो ज्यान जोगाएर रुस फिर्ता हुन रुसी सेनालाई चेतावनी दिएका थिए । युद्ध सुरु भएको पाँच दिन बित्दा युक्रेनको राजधानीमा रुसी सेना घुसिसकेको छ ।

युक्रेनका विभिन्न क्षेत्रमा युद्ध चलिरहेको छ । युक्रेनले रुसी सेनाले ठूलो क्षति व्यहोरेको दाबी गरेको छ । तर, रुसले भने क्षतिबारे केही उल्लेख गरेको छैन । उसले युक्रेनी सैन्य ठेगानालाई मात्र केन्द्रित गरेर सैन्य कारबाही गरिएको बताउँदै आएको छ ।

शान्तिवार्ता हुँदाहुँदै युक्रेनमा रुसी र युक्रेनी सेनाबीच लडाइँ चर्केको छ । युक्रेनको दोस्रो ठूलो शहर खार्किभमा रुसको क्षेप्यास्त्र हमलाबाट कैयौँ सर्वसाधारण मारिएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

राजधानी किएभमा खतराको साइरन फेरि बजेका छन् । सर्वसाधारण नागरिकलाई सरकारले घरभित्रै बस्न अनुरोध गरेको छ ।

युक्रेनी सैनिकले रुसी सैनिकलाई प्रमुख शहरमा रोक्ने प्रयास गरिरहेका छन् । उनीहरूलाई स्थानीय बासिन्दाले पनि साथ दिइरहेका छन् ।

युद्ध जारी रहँदा सोमबार बेलारुसमा युक्रेन र रुसका प्रतिनिधिबीच भएको वार्तामा कुनै निकास निस्कन सकेन ।युक्रेनबाट रुसी सैनिक फिर्ता हुनुपर्ने अडानमा रुस सहमत भएको छैन । रुसले फेरि वार्तामा बस्ने जनाएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here