आयल निगममा रकम अभाव, आइओसीलाई तिर्न सरकारसँग फेरि माग्यो ४ अर्ब

काठमाडौं, १८ फागुन । नेपाल आयल निगममा भुक्तानीका लागि रकम अभाव भएको छ । निरन्तर घाटामा गएपछि इण्डियन आयल कर्पोरेशन (आइओसी) लाई तिर्न पैसाको देखिएको हो ।

गत १५ दिनमा आयल निगमले खपत गरेको पेट्रोलियमको भुक्तानी ८ मार्चमा आइओसीलाई पठाउन रकम अभाव भएपछि निगमले सरकारसँग रकमको जोहो गरिदिन माग गरेको हो ।

आगामी २४ फागुनमा आइओसीलाई बुझाउनु पर्ने इन्धन खरिदको २५ अर्ब रुपैयाँका जोहो गर्न ४ अर्ब रकम माग गरेको छ । निगमले एक महिनाको अवधिमा दोस्रो पटक थप रकम मागेको हो ।

यसअघि पनि जनवरी महिनाको भुक्तानी दिन निगमले मूल्य स्थिरिकरण कोषबाट १ अर्ब ८० करोड रुपैयाँ रकम लिएको थियो ।

जनवरी महिनाको पहिलो किस्ता बुझाउन गत फेब्रुअरीमा उक्त रकम लिएको थियो । नियमको अनुसार ८ र २३ मार्चमा गरी दुई किस्तामा आईओसीलाई झण्डै २५ अर्ब रुपैयाँ भुक्तानी गर्नुपर्छ ।

मंगलबार भारतीय आयाल निगमबाट प्राप्त नयाँ मूल्य अनुसार १५ दिनमा ३ अर्ब ९ करोड रुपैयाँ अतिरिक्त भार थपिएको छ ।

‘निगमको खातामा पेट्रोलियम बिक्रीबाट करिब १० अर्ब रुपैयाँ मात्रै संकलन भएको छ ।

निगमले पेट्रोल, डिजेल, मट्टीतेल, हवाइ इन्धन र खाना पकाउने एलपी ग्यासमा घाटा सहँदै आएकोले निगमले दिनुपर्ने भुक्तानी भन्दा कम रकम बिक्रीबाट संकलन भएको जनाएको छ ।

निगमलाई मंगलबार आइओसीबाट प्राप्त नयाँ मूल्यसूची अनुसार प्रतिलिटर पेट्रोलमा ३.८९ रुपैयाँ, डिजेलमा ३.०८ रुपैयाँ, मट्टितेल १०.३० रुपैयाँ, हवाई इन्धन ३.३२ रुपैयाँ र एलपी ग्यास प्रतिसिलिन्डर ९९.१७ रुपैयाँ पैसाले बढेर आएको छ ।

बढेर आएको मूल्य अनुसार आगामी १५ दिनमा करिब ३ अर्ब ९ करोड घाटा हुने देखिएको निगमले जनाएको छ । निगमका अनुसार चालु आर्थिक वर्षमा मात्रै करिब २८ अर्ब नोक्सानी बेहोरिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here