काठमाडौं, २३ फागुन । लघुवित्त संस्थाहरुले कर्जा लगानी ४ खर्ब ३० अर्ब रुपैयाँ नाघेको छ ।
नेपाल राष्ट्र बैंकले आइतवार सार्वजनिक गरेको ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरुको गैर-स्थलगत सुपरिवेक्षण प्रतिवेदनले यस्तो देखाएको हो ।
अध्यययन अनुसार २०७८ पुस मसान्तमा . ४ खर्ब ३० अर्ब ६८ करोड लगानी गरेका छन् । जस मध्ये रु. १ खर्ब ९५ अर्ब ८१ करोड अर्थात ४५.४७ प्रतिशत कृषि क्षेत्रमा प्रवाह भएको देखिन्छ ।
२०७८ असार मसान्तमा कृषि क्षेत्रमा रु. १ खर्ब ६३ अर्ब ८६ करोड अर्थात ४४.८२ प्रतिशत कर्जा प्रवाह भएको थियो ।
आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमाससम्ममा लघुवित्त वित्तीय संस्थाहरुले प्रवाह गरेको कुल कर्जा मध्ये घरेलु तथा लघु उद्योग क्षेत्रमा ३.३९ प्रतिशत र सेवा व्यवसाय क्षेत्रमा ३१.२२ प्रतिशत कर्जा प्रवाह भएको देखिन्छ ।
समीक्षा अवधिमा लघुवित्त वित्तीय संस्थाहरुले प्रवाह गरेको कुल कर्जामा थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुले प्रवाह गरेको कुल कर्जाको हिस्सा १२.७३ प्रतिशत रहेको छ ।
थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुको कुल कर्जा नोक्सानी व्यवस्था बढेको छ । भने निष्क्रिय कर्जामा नोक्सानी व्यवस्था घटेको छ ।
२०७८ पुस मसान्तमा उक्त लघुवित्त वित्तीय संस्थाहरूको कुल कर्जा नोक्सानी व्यवस्था २०७८ असार मसान्तको तुलनामा ११.२५ प्रतिशतले बढेर रू. १ अर्ब ८ करोड पुगेको छ ।
जसमध्ये निष्क्रिय कर्जा नोक्सानी व्यवस्था २०७८ असार मसान्तको तुलनामा १.७३ प्रतिशतले ह्रास भई रु. १८ करोड पुगेको छ ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कुल कर्जा नोक्सानी व्यवस्था रकम ८.७९ प्रतिशतले बढेको थियो भने निष्क्रिय कर्जा नोक्सानी व्यवस्था रकम ३१.१० प्रतिशतले बढेको थियो ।