पेट्रोलियम सवारीसाधनलाई विद्युतीय बनाउने बाटो खुल्यो

फाइलफोटो

काठमाडौं, १५ चैत । सरकारले पेट्रोलियम पदार्थले चल्ने गाडीलाई विद्युतीयमा रुपान्तरण गर्न बाटो खोलेको छ । सरकारले राजपत्रमा सूचना जारी गर्दै इन्धनबाट चल्ने सवारीसाधनलाई विद्युतीय बनाउन बाटो खोलेको हो ।

जसमा ३ वर्षसम्मका लागि इन्धनका सवारीसाधनको इन्जिन वा चेसिसमा परिवर्तन गर्न पाउने व्यवस्था गरिएको छ । पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनलाई अब विद्युतीय बनाउन पाइने भएको छ ।

‘सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ३९ को उपदफा (२)को प्रतिबन्धात्मक वाक्यांश तीन वर्षसम्म लागू नहुनेगरी इन्धन प्रणालीमा वातावरणमैत्री वा ऊर्जा दक्षतामूलक फेरबदल गरिने सवारीसाधनको हकमा छुट दिने निर्णय भएको’ राजपत्रमा उल्लेख छ ।

सरोकारवालाले पुराना गाडीलाई विद्युतीयमा रुपान्तरण गर्ने कानुनी व्यवस्था गर्न माग गर्दै आइरहेका बेला सरकारले सबै गाडीलाई वातावरणमैत्री हुने गरी फेरबदल गर्न स्वीकृति दिएको छ।

हाल नेपालमा सवारीसाधनको अवस्था हेरेर भन्दा पनि २० वर्ष पुराना सबै सार्वजनिक यातायातका साधन चलाउन नपाउने व्यवस्था छ। यसलाई सरकारले प्रदूषण तथा सुरक्षाको कारण भन्दैै आएको छ।

व्यवसायीहरुले २० वर्ष पुराना गाडीको इन्जिनको ठाउँमा विद्युतीय मोटर र ब्याट्री राख्दा कम्तीमा थप १० वर्ष चलाउन सकिने बताउँदै आएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here