हराए हलगोरु, देखिन थाले रोपाइँमा ट्याक्टर र मिनिटिलर

–ध्रुवसागर शर्मा

म्याग्दी, २५ असार । प्रविधिको बढ्दो प्रयोगसँगै हिमाली जिल्ला म्याग्दीमा रोपाइँको रौनक पनि फेरिएको छ ।

नेपालीको मुख्य बाली धान रोप्न खेत जोत्नका लागि परम्परागतरुपमा प्रयोग हुँदै आएको हलगोरुको ठाउँमा अब खेतका गरा र फोहोटामा पनि ट्याक्टर र मिनिटिलर प्रयोग हुन थालेका छन् । गाउँमा हलगोरु पाल्ने चलन हराउँदै गएको छ भने हलो, जुवालगायतका परम्परागत कृषि सामग्री निर्माण गर्ने रैथाने सीप पनि विस्थापित भएको छ ।

कृषिमा प्रविधिको प्रयोग बढ्दै जाँदा कृषकलाई सुविधा पुगेको छ । कृषक निर्वाहमुखी कृषि प्रणालीबाट विस्तारै व्यावसायिक कृषितर्फ आकर्षित हुँदै गएका छन् । परम्परागत तरिकाले खेती लगाउँदा व्यहोर्नुपर्ने धेरै किसिमका झण्झटबाट पनि मुक्ति मिलेको कृषक बताउँछन् ।

‘पहिलापहिला खेत जोत्नका लागि हली र गोरु खोज्नुपर्ने, गोरुलाई घाँसको व्यवस्था गर्नुपर्ने, दिनभरि गोरुको पछिपछि हिलोमा ओहोरदोहोर गर्नुपर्ने लगायतका धेरै झण्झट हुने गर्थे’, मिनिटिलरबाट खेत जोतेर रोपाइँ गर्दै गरेका बेनी नगरपालिका–४ सिंगाका कृषक नारायण पौडेलले भने, ‘अहिले पानीको मात्रै जोहो गर्न सक्यो भने हाइसञ्चो हुन्छ । मिनिटिलर वा ट्र्याक्टर लगायो धने एकैछिनमा मेलो सकिन्छ ।’

‘गोरुले जोत्दा छ÷सात दिन लाग्ने मेलो (खेत) मा मिनिटिलर वा ट्र्याक्टरबाट एकै दिनमा सकिन्छ’, उनले भने, ‘लागत र झण्झट पनि कम हुनेहुँदा परम्परागत हलगोरुको साटो यान्त्रिक पद्धतितर्फ आकर्षण बढेको हो ।’

‘रोपाहार र बाउसेको व्यवस्था हुने हो भने हलोले छ/सात दिन लाग्ने खेत मिनिटिलरबाट एक दिनमा नै रोपेर सकिन्छ’, बेनी नगरपालिका–२ का कृषक भीमबहादुर रिजाल भन्छन्।

वैदेशिक रोजगारीका कारण गाउँमा कृषि मजदूर र जनशक्तिको अभाव हुन थालेका बेला मिनिटिलर र ट्र्याक्टर उपयोगी माध्यम भएका स्थानीय कृषकले बताए । अहिले म्याग्दीका सबै गाउँमा मिनिटिलरले प्रयोग व्यापकरुपमा हुन थालेको छ । हलगोरु नारेर खेती गर्ने चलन हराउँदै गएको छ । कृषिमा आएको यान्त्रिक प्रयोगका कारण गोरु पाल्ने, बाह्रै महीना घाँसपात गर्ने र हेरालु राख्नुपर्ने झण्झट पनि हटेको कृषकको भनाइ छ ।

प्रविधिको प्रयोग गरेर खेती गर्न थालिएपछि म्याग्दीमा वर्षौंदेखि बाँझो रहेको जमीनमा पनि पछिल्लो समय खनजोत गरी खेती गर्न थालिएको छ । आग्र्यानिक कृषि उत्पादनलाई पहिलो प्राथमिकतामा राखेको मङ्गला गाउँपालिकाले कृषिमा यान्त्रिकीरण र व्यवसायीकरण गर्दै बाँझो जमीनलाई पनि हराभरा बनाउने अभियान थालेको छ ।

‘अब कृषि क्षेत्रमा पहिलाको जस्तो झण्झट छैन, प्रविधिको प्रयोग गरेर गाउँमा बाँझो रहेको जग्गाको सदुपयोग गरी आग्र्यानिक खेतीमा जोड दिएका छौँ’, मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताए ।

म्याग्दीका छवटै स्थानीय तहले कृषिमा प्रविधिको प्रयोगलाई विशेष महत्व दिँदै मिनिटिलरदेखि लिएर विभिन्न किसिमका कृषि उपकरण कृषकलाई निःशुल्क वा अनुदानमा वितरण गरेका छन् । म्याग्दीको तीन हजार ८९२ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख गोविन्दराज कोइरालाले गत साल म्याग्दीमा १३ हजार ९७८ मेट्रिकटन धान उत्पादन भएको जानकारी दिए ।

म्याग्दीमा गौरी, जर्नेली, गुडुरा, जेठोबूढो, मार्सी, ताकमारे, भट्टे पहेंलोलगायतका रैथाने र छमरुङ, माछापुच्छ्रे, अन्नपूर्ण तीन, खुमल १०, लुम्ले दुईलगायतका उन्नत जातका धानखेती हुने गरेको छ । (रासस)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here