‘एमाले एक क्विन्टलको ढक हो, एक-एक किलोले एक्लै चुनाव लड्छु भन्ने नसोच्नू’

काठमाडौं, १६ चैत । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनले पनि एमालेसँग प्रतिस्पर्धा गर्न नसक्ने दाबी गरेका छन्।

भक्तपुरको सूर्यविनायकस्थित एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईंको लगानी रहेको सूर्यविनायक हरित कृषि तथा थोक बजारको उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले उक्त कुरा बताएका हुन् ।

अहिलेको पाँच दलिय गठबन्धनमा रहेका दलहरूलाई एक्ला एक्लै चुनावमा लड्ने हिम्मत नै नभएको बताएका हुन् । साथै उनले सत्ता गठबन्धन एक–एक किलोका ५ किलो र एमाले एक्लै एक क्विन्टलको ढक बराबर रहेको बताए ।

‘नेकपा एमाले क्विन्टलको ढक हो । एक्लै एमालेसँग लड्छु भन्ने नसोचे हुन्छ,’ उनले भने, ‘अब हामीलाई पनि अलिकति हैसियत मिल्नेसँग चुनाव लड्न सजिलो हुन्छ । उनीहरू एक्लै भयो भने त हामीले कसरी चुनाव लड्ने ? त्यसैले अब बल्ल हैसियत मिलेको छ ।’

एमालेमा देशभर पार्टी प्रवेशको जनलहर आइरहेको देखेर अन्य दल त्रसित भइरहेको बताए ।

सत्ता गठबन्धन लोभी पापीहरूको गठबन्धन रहेको आरोप लगाउँदै ओलीले पाँच दलसँगै आए पनि एमालेसँग भिड्न गाह्रो हुने दाबी गरे ।

निर्वाचन आयोगले मनोनयनको समय दुई दिन राखेर सत्ता गठबन्धनलाई सहज बनाइएको ओलीको भनाई छ । ‘निर्वाचन आयोगले मनोनयनको दर्ता दुई दिन राखेको छ । गठबन्धनमा कुरा मिल्दैन भनेर दुई दिन राखिएको हो । नत्र मनोनयन पनि दुई दिन राखिन्छ र ?’, ओलीले प्रश्न गरे ।

देशैभर एमालेको जनलहर आइरहेको देखेर अन्य दल त्रसित भएको उनको भनाई छ । ओलीले भनेका छन्, ‘अन्य दलका नेता कार्यकर्ता रित्तिन लागेका छन्, हाम्रो पार्टी भरिन लागेको छ, यो जनलहर आगामी चुनावमा एमालेलाई विजयी गराउनको लागि हो ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here