कसरी पाइन्छ गम्भीर रोगका बिरामीलाई सरकारले दिने मासिक ५ हजार ?

काठमाडौं, १८ चैत । सरकारले ‘मिर्गौला प्रत्यारोपण गरेका, डायलायसिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीलाई औषधि उपचारबापत खर्च उपलब्ध गराउनेसम्बन्धी कार्यविधि, २०७८’ स्वीकृत गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको कार्यविधिमा मिर्गौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइरहेका, क्यान्सररोगी र मेरुदण्ड पक्षघातका बिरामीलाई भत्ता पाउने सूचीमा राखिएको छ ।

स्वीकृत कार्यविधिअनुसार अब यी रोगका बिरामीले औषधोपचार बापत मासिक रकम पाउने छन् ।

मन्त्रालयले तयार पारेको कार्यविधिमा मासिक ५ हजार पाउने बिरामीले राष्ट्रिय परिचयपत्र नम्बर वा नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि, चिकित्सकको सिफारिश, मेरूदण्ड पक्षाघातको हकमा अपाङ्गतासम्बन्धी प्राप्त गरेको रातो वा नीलो कार्डको प्रतिलिपिसहित सम्बन्धित स्थानीय तहको वडा कार्यालयमा निवेदन दिनु पर्नेछ।

वडा कार्यालयले प्रमाणित गरेपछि बैंकमार्फत बिरामीले रकम पाउनेछन्। यसरी रकम पाउने बिरामीको विवरण भने हरेक स्थानीय तहले राख्नु पर्नेछ।

कार्यविधिअनुसार सरकारले तोकेको मासिक ५ हजार रूपैयाँ बिरामीका लागि बैकिङ प्रणालीबाट भुक्तानी गरिनेछ। चिकित्सकको निरन्तर निगरानीमा रहेका बिरामीहरुलाई हरेक ३/३ महिनाको अन्तिम दिन स्थानीय तहले उक्त रकम पाउने बिरामीको बैंक खातामा रकम जम्मा गरिदिनेछ।

सरकारबाट उपलब्ध ज्येष्ठ नागरिक भत्ता, एकल महिला भत्ता, दलित भत्ता, पिछडिएको भत्ता, अपांग भत्ता पाउनेले सो भत्ता वा उपचार खर्चमध्ये एउटा रोज्नुपर्नेछ भने एकै बिरामीलाई मिर्गौला, क्यान्सर र मेरुदण्डको पक्षघात रोग एकै पटक लागिरहेको छ भने पनि दोहारो भत्ता पाउने छैनन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here