चोभार सुख्खा बन्दरगाह उद्घाटन, अन्तर्राष्ट्रिय व्यापारको भन्सार जाँच पास काठमाडौंबाटै गर्ने बाटो खुल्यो

काठमाडौं, २२ चैत । प्रधानमन्त्री शेर बहादुर देउवाले चोभार सुख्खा बन्दरगाहको उद्घाटन गरेका छन्।

मंगलवार वीरगञ्जबाट डिजिटल लक लगाएर आएको मालबाहक कन्टेनर बहुप्रतिक्षित बन्दरगाहमा प्रवेश गराई उद्घाटन गरेका हुन्।

गत असारमा निर्माण सम्पन्न भएको चोभारको सुख्खा बन्दरगाह हालसम्म सञ्चालनमा आउन सकेको थिएन।

सञ्चालनमा आएसँगै वीरगञ्ज भन्सारमा ‘डिजिटल लक’ गरेर आन्तरिक परिवहन सुविधा अन्तर्गत काठमाडौं आएका ती कन्टेनरसँगै अब स्थलमार्ग हुँदै गरिने अन्तर्राष्ट्रिय व्यापारको भन्सार जाँच पास काठमाडौंबाटै गर्ने बाटो खुलेको छ ।

विश्व बैंकको ऋण सहयोगमा बनेको बन्दरगाहको लागत एक अर्ब ५३ करोड रूपैयाँ हो।

दुई सय २० रोपनी क्षेत्रफलमा बनेको बन्दरगाहमा पाँच सय ट्रक पार्किङ गर्न सकिन्छ। त्यस्तै, परियोजनाअन्तर्गत पाँच सयसम्म कन्टेनर राख्न मिल्ने गरी यार्ड बनाइएको छ।

यातायात विकास समिति र भन्सार विभागको संयुक्त सहकार्यमा सञ्चालनमा ल्याएका हुनाले आयातकर्ता तथा निर्यातकर्तालाई सहज हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here