पल शाहलाई नवलपुर अदालतले पनि दियो पुर्पक्षका लागि थुनामा राख्ने आदेश

काठमाडौं । नाबालिग बलात्कारको आरोप लागेका नायक पल शाहलाई जिल्ला अदालत नवलपुरले पनि पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

न्यायाधीश अर्जुन अधिकारीको इजलासले शाहलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । पीडित किशोरीलाई विवाह गर्ने प्रलोभन देखाएर उनले पटकपटक जबरजस्ती करणी गरेको अभियोग छ ।

पीडितका बुबाले शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय, तनहुँ र पूर्व नवलपरासीमा किटानी जाहेरी दिएका थिए । शाहविरुद्ध १२ देखि १४ वर्षसम्म जेल सजाय हुनुपर्ने माग दाबी सरकारी वकिलले गरेका छन् ।

नाबालिग किशोरीलाई जबरजस्ती करणीको मुद्दामा जिल्ला कारागार तनहुँमा रहेका शाहलाई मंगलबार नवलपुर जिल्ला अदालत लगिएको थियो ।

उनीविरुद्ध तनहुँपछि चैत ३ गते नवपुरमा जबरजस्ती करणीको मुद्दा दायर भएको थियो ।

त्यस्तै गत चैत १० गते जिल्ला न्यायाधीश हरिशचन्द्र ढुंगानाको आदेशपछि शाहलाई पुर्पक्षका लागि थुनामा पठाइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here