प्राविधिक भन्छन्ः भारतीय भन्दा नेपालकै तरकारीमा बढी विषादि हुन्छ

काठमाडौं, २७ असार । कालिमाटी तरकारी बजार स्थित केन्द्रिय कृषि प्रयोगशालाका प्राविधिकले भारतबाट आएका तरकारीमा भन्दा नेपालमै उत्पादन हुने तरकारीमा बढी भेटिएको बताएका छन् ।

प्रयोगशालाका नायब प्राविधिक सहायक जागेश्वर शर्माका अनुसार पछिल्लो समय भारतबाट आयातित तरकारीमा धेरै मात्रामा विषादि प्रयोग भएको भन्ने कुरा निराधार हो ।

‘हामीले यो वर्ष २ हजार ९ सय ४८ वटा तरकारीको नमूनामा विषादी परिक्षण गरेका थियौं’ उनले भने ‘जसमा भारतबाट आएका तरकारीहरुमा मापदण्ड विपरीतका विषादि प्रयोग भएको पाइएन ।’

प्राविधिक शर्माका अनुसार सबैभन्दा धेरै धादिङ जिल्लामा उत्पादन भएका तरकारीमा विषादिको प्रयोग भएको पाइएको छ ।

‘हामीले गरेका परिक्षण मध्ये धादिङबाट आएका तरकारीका ३ नमूनामा मापदण्ड भन्दा धेरै मात्रामा विषादि प्रयोग भएको भेटियो ।’

मापदण्ड विपरितको विषादि प्रयोग भएको भेटिएपछि ती तरकारी नष्ट गरिएको पनि उनले बताए । यसका साथै सर्लाहीमा उत्पादन भएको तरकारीको एउटा नमूनामा पनि मापदण्ड भन्दा धेरै विषादि प्रयोग गरेको पाइयो ।

के केमा भेटिए धेरै विषादि ?

प्राविधीक शर्माका अनुसार धादिङमा उत्पादित ब्रोकाउली सिमीमा मापदण्ड भन्दा धेरै विषादि भएको भेटियो ।

ब्रोकाउली र सिमीमा धेरै मात्रामा विषादि प्रयोग भएको पाईएको कारण यी तरकारीलाई नष्ट गरिएको हो । शर्माका अनुसार ती दुई तरकारीको विषादि परीक्षण गर्दा रातो संकेत देखिएको थियो ।

प्राविधीक शर्माको अनुसार यो वर्ष भएको परीक्षण अनुसार सिमीमा धेरै मात्रामा विषादी प्रयाग भएको पाईएको छ ।

उनका अनुसार सिमीमा धेरै लाई लाग्ने समस्या देखिने भएकाले किसानहरुले त्यसबाट जोगाउन धेरै विषादि प्रयोग गरेको हुनसक्छ ।

हालसम्म भएको अनुसन्धान अनुसार अन्य तरकारीमा भने तोकिएको मापदण्ड अनुसार नै विषादि प्रयोग भएको पाइएको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here