बालेन काठमाडौंको मेयर बन्ने निश्चित,’कोर एरिया’मा सिंह र स्थापितलाई सायमीको झड्का

काठमाडौं, ११ जेठ । काठमाडौं महानगरपालिकामा मतगणना जारी छ। काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले फराकिलो अग्रतालाई कायमै राखेका छन् ।

काठमाडौं महानगरपालिकामा मेयरमा दोस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जना सिंहले एमालेका केशव स्थापितलाई पछि पारेकी छन्।

स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) विजयी निश्चित देखिएको छ । १ लाख ६८ हजार ४८७ मतगणना हुँदा उनले ५४ हजार ७१८ मत प्राप्त गरेका छन् ।

नेपाली कांग्रेसकी सिर्जना सिंहले ३४ हजार ६ सय ८ मत पाएकी छन् । उनी बालेनभन्दा अझै २० हजार १ सय १० मतान्तरले पछाडि छन् ।

साढे २२ हजार मतगणना मात्र बाँकी रहेको अवस्थामा बालेन नै काठमाडौंको मेयर बन्ने सुनिश्चित भएको छ ।

तेस्रो स्थानका नेकपा एमालेका मेयर उम्मेदवार केशव स्थापितले ३३ हजार ९ सय ७५ मत पाएका छन् ।

यस्तै, मेयरका स्वतन्त्र उम्मेदवार सुमन सायमीले ९ हजार ९६३ मत ल्याएका छन् । उनको उम्मेदवारीको खासै चर्चा थिएन तर भित्री शहरमा उनले राम्रो मत बटुलेका छन्।

कोर एरियामा सिंह र स्थापितले अपेक्षा गरिए अनुसारको मत ल्याउन सकेका छैन् । उनिहरुलाई लाई तिखिझ्यास् चुनाव चिन्ह लिएर उठेका स्वतन्त्र उम्मेदवार सुमन सायमीले झड्का दिएका छन् ।

निर्वाचन आयोगका अनुसार अहिले वडा नम्बर १३ कालिमाटी, १४ कालिमाटी, १५ डल्लु, १६ सोह्रखुट्टे र १७ क्षेत्रपाटीको मत गणना भइरहेको छ ।

अन्य सबै वडाको गणना सकिएको छ । ३० वैशाखमा भएको निर्वाचनमा १ लाख ९१ हजार १२५ जनाले मतदान गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here