हकप्रद सेयरमा आफ्नो हक भन्दा बढीको आवेदन दिन सकिने व्यवस्था गरिदै

काठमाडौं ३१, असार । हकप्रद सेयरमा आफ्नो हक भन्दा बढीको आवेदन दिन सकिने व्यवस्था हुन लागेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक कार्यक्रममा नेपाल धितोपत्र बोर्डले यस्तो बताएको हो ।

हाल हकप्रद सयरमा आफ्नो हक बराबर मात्र सेयरमा आवेदन दिन पाइन्छ । नयाँ व्यवस्था अनुसार हकप्रद सेयर निष्काशनमा हाल लगानीकर्ताले आफ्नो हकभन्दा बढी आवेदन दिन पाउनेछन् ।

‘लगानीकर्ताले आफ्नो हकसम्मको मात्र आवेदन दिने व्यवस्था रहेकोमा आगामी दिनमा लगानीकर्ताले आफ्नो हकभन्दा बढी आवेदन दिन सक्ने व्यवस्था गरी शीघ्र कार्यान्वयनमा ल्याउने,’ बोर्डले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । पछिल्लो समयमा हकप्रद सेयर विक्री नभएर लिलाममा विक्री गर्नु पर्ने अवस्था आएकाले उक्त व्यवस्था गर्न लागिएको बोर्डले जनाएको छ ।

यस्तै, वित्तीय लगानीकर्ता÷ग्राहकको संरक्षणसम्बन्धी व्यवस्थालाई सुदृढ गर्दे वित्तीय समावेशी नीति तर्जुमा गर्ने बोर्डको योजना छ । गत आर्थिक वर्ष देखि शुरुवात गरिएको एक नेपाली एक डिम्याट खातासम्बन्धी नीतिलाई थप प्रभावकारी बनाउन प्रोत्साहन गर्ने । दोस्रो बजारमा सूचना प्रवाहलाई थप व्यवस्थित तथा प्रभावकारी बनाउन थप डिस्कोल्जरको (बल्क कारोबार) व्यवस्था गर्ने नीति बोर्डले सार्वजनिक गरेको छ ।

सूचीकृत वास्तविक क्षेत्रका कम्पनी, जलविद्युत क्षेत्रका कम्पनी तथा सामूहिक लगानी कोषले बोर्डमा पेश गर्ने विवरण प्रवाहका लागि प्रारुप तयार गर्ने । केन्द्रीय निक्षेप कम्पनीमा अभौतिकृत रुपमा रहेका निश्चित सीमासम्मको सेयरको बीमा गर्नका लागि सहजीकरण गर्ने बोर्डले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here