पहिलो पटक नेपालमा पाइपबाट आयो डिजेल

२ साउन, काठमाडौं । नेपाल र भारत सम्बन्धमा महत्वपूर्ण कडी मानिएको पेट्रोलियम पदार्थ आयात गर्ने पाइपलाइन अन्ततः संचालनका लागि तयार भएको छ ।
बुधबार पाइपलाइनबाट नेपालतर्फ डिजेल पठाइएको छ । नेपाल आयल निगमका अनुसार नेपाल भारत क्रस बोर्डर पेट्रोलियम पाइपलाइन तयार भएको छ ।

यससँगै बुधबार दिउँसो २ बजे भारतीय आयल कर्पोरेसनको मोतिहारीस्थित डिपोबाट डिजेल नेपालतर्फ पठाउन थालिएको छ । उक्त डिजेल बिहीबार साँझ नेपाल आइसक्ने छ ।
मोतिहारी-अमलेखगन्ज पेट्रोलियम पाइपलाइन ६९.२ किलोमिटर लामो रहेको छ । उद्घाटन नगरेसम्म पेट्रोलियम पदार्थ पाइपबाट बाहिर नपठाए पनि पाइपमै रिजर्भ रहने निगमको भनाई छ ।

नेपाल र भारत सरकारको उच्च तहबाट उद्घाटन भएपछि भने पाइपलाइनबाट नियमित तेल आपूर्ति शुरु हुनेछ । अमलेखगन्ज डिपोमा ४ वटा ठूला ट्यांकी तयारी अवस्थामा छन् ।

अब पाइपलाइनमा पनि पेट्रोलियम पदार्थ रिजर्भ रहने छ भने ट्यांकीमा पनि रिजर्भ रहने छ । यसबाट पेट्रोलियम पदार्थको मौज्दादमा समेत सहयोग पुग्ने निगमको भनाई छ ।

नेपाल र भारतबीच पेट्रोलियम पाइपलाइन बनाउने सम्बन्धमा ७ भदौं २०७२ मा सम्झौता भएको थियो । पुस २०७४ बाट निर्माण थालिएको यो परियोजना डेढ वर्ष मै तयार भएको छ ।

पाइपलाइन निर्माणमा ३ अर्ब २४ करोड भारु लागत लागेको छ । पेट्रोलियम पाइपलाइन तयार भएपछि नेपाल पेट्रोलियम आयातमा पहिलो पटक आधुनिक यूगमा प्रवश गरेको हो । यसबाट ढुवानी लागत उल्लेख्य घट्ने अपेक्षा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here