उत्पत्तिको प्रमाणपत्र अनलाइनबाटै जारी हुने

काठमाडौं, २ साउन । नेपालबाट निकासी हुने वस्तुकाे लागि जारी हुने उत्पत्तिको प्रमाण पत्र अब अनलाइनबाटै जारी गर्ने कार्यको सुरुवात भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव केदार बहादुर अधिकारी र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले संयुक्त रूपमा महासंघ सचिवालयमा उक्त कार्यको सुरुवात गरेका हुन् ।

अनलाइनबाट उत्पत्तिको जारी गर्ने प्रणालीको सुरुवात भने भदौ १ गतेबाट हुने बताईएको छ ।

उत्पत्तिको प्रमाणपत्रलाई अनलाइन प्रणालीबाट जारी गर्ने सम्बन्धमा मन्त्रालय र महासंघ बीचको लामो समयदेखि वार्ता भईरहेको थियो ।

नेपालबाट निकासी हुने वस्तुका लागि जारी हुने उत्पत्तिको प्रमाण पत्र जारी गर्ने कार्य विगत ५ दशकभन्दा बढी समयदेखि भारत तथा तेस्रो मुलुकका लागि गर्दै आएका महासंघले बताएको छ ।

कार्यक्रमलाई संवोधन गर्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले उत्पत्तिको प्रमाणपत्रलाई अनलाइन प्रणालीमा लगेपछि समय, श्रमको समेत बचत हुन गई व्यवसाय लागतमा समेत कटौती हुने साथै व्यापार विस्तारमा सहयोग पुग्ने धारणा राखेका थिए ।

अनलाईन प्रणालीबाट उत्पत्तिको प्रमाणपत्र जारी गर्ने कार्यलाई सफल पार्न महासंघका तर्फबाट नेतृत्वदायी भूमिका निर्वाह हुनेमा आफू विश्वस्त रहेको बताउदै यो प्रणालीमा जांदा आउने चुनौतीलाई सामना गर्न मन्त्रालयले सहयोग र सहकार्य गर्ने उनले बताए ।

महासंघका अध्यक्ष भवानी राणाले अनलाइन प्रणालीबाट जारी भएको उत्पत्तिको प्रमाणपत्र कानूनी रूपमा समेत मान्य हुने बताइन् ।

जहांसुकै बसेर पनि उत्पत्तिको प्रमाणपत्रको विवरण भर्न तथा जारी गर्न सकिने, मन्त्रालयबाट समेत यसको अनुगमन गर्न र वस्तु निकासीको तथ्यांक सहज तरिकाबाट उपलव्ध हुने भएकाले यसको महत्व अझ बढ्ने विश्वास व्यक्त गरिन । साथै अध्यक्ष राणाले महासंघले प्रभावकारी ढंगबाट आफ्नो जिम्मेवारी निर्वाह गर्ने समेत बताइन् ।

कार्यक्रममा अनलाइन प्रणाली निर्माण कम्पनी मण्डला सिस्टमका प्रवन्ध निर्देशक विप्लवमान सिंहले सो प्रणालीको प्रयोग सम्बन्धमा जानकारी गराएका थिए ।

अनलाइन प्रणालीमा गएपछि महासंघ, उत्पत्तिको प्रमाण पत्र जारी गर्ने निकाय तथा भन्सार कार्यालयबीच सम्पर्क कायम रहने, पेपरलेस हुने भएकाले भन्सार लगायत कार्यालयहरूमा समेत उत्पत्तिको प्रमाण पत्र बुझाइरहन आवश्यकता हुँदैन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here