‘बजेट हेर्दै दुई चार व्यापारिक घरानाका अनुहार देखिन्छ, निश्चित व्यक्तिलाई फाइदा हुने गरी किन बनाइयो ?’

काठमाडौं २० असार । प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेट सरकारले नभै दुई चार व्यापारिक घरानाले ल्याएको आरोप लगाएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा समय लिएर विपक्षी दलको नेताको हैसियतमा बोल्दै उनले यस्तो बताएका हुन् ।

सम्बोधनको क्रममा ओलीले भने, ‘यो त देशको बजेट नै होइन, व्यापारीको बजेट हो । बजेट हेर्दै थाहा हुन्छ, त्यसमा दुई चार घरानाका अनुहार देखिन्छन् ।’

‘यसरी अनुहार हेरेर निश्चित घरानालाई फाइदा हुने गरी अरुलाई फाइदा नहुने गरी बजेट किन बनाइयो ?’

उनले बजेट अनधिकृत मान्छे रााखेर बनाएको उल्लेख गर्दै बजेट बनाउनका लागि अर्थ मन्त्रालयका कर्मचारीको भर नपरिएको टिप्पणी गरे ।

‘करका दर फाइनल हुने दिन अर्थ सचिव, सम्बन्धित सहसचिवहरु घर जानसमेत पाउँदैनन्, त्यहीँ रात बस्नुपर्छ’ उनले भने, ‘यहाँ त करका दर कति राखौं, तिमीहरुलाई कति कति चाहिन्छ भनेर बनाइयो ?’

बजेट बनाउने बेलामा अर्थसचिव, राजस्वसचिव लगायत उच्च अधिकारी मन्त्रालयमै बस्नुपर्ने भए पनि उनीहरुलाई निर्देशित गर्न अन्यत्रबाट मान्छे ल्याइएको बताए ।

अनधिकृत व्यक्तिले बजेटमा हेरफेर गरेको विषयमा संसदमा प्रमुख प्रतिपक्षी दलले उठाएको प्रश्नलाई अवमूल्यन गरिएको भन्दै उनले आपत्ति जनाए ।

कानुनअनुसार तीन महिनासम्म राख्नुपर्ने सिसिटीभी फुटेज अर्थमन्त्रालयले डिलिट गरेर कानुनी राज्यको धज्जी उडाएको उनको आरोप छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here