छानबिन समितिलाई सहयोग गर्ने घोषणा गर्दै अर्थमन्त्रीले दिए पदबाट राजीनामा

काठमाडौं, २२ असार । अर्थमन्त्री जर्नादन शर्माले राजीनामा दिएका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै राजीनामा घोषणा गरेका हुन् ।

संसदीय छानबिन समितिलाई सहयोग गर्न आफुले राजीनामा दिएको उनले घोषणा गरेका हुन् । बजेट बनाउँदा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दरमा हेरफेर गरेको आरोप शर्मामाथि लागेको छ।

‘सभामुखको पहलमा जुन छानबिन समिति बनेको छ, त्यसको स्वागत गर्छु, धन्यबाद दिन्छु,’ संसदको रोष्टमबाट शर्माले भने, ‘यो छानबिनका लागि मैले मार्गप्रशस्त गर्दै आफ्नो पदबाट राजीनामा दिएको घोषणा पनि गर्दछु।’

शर्माले बजेट बनाउँदा आफूले कुनै गल्ती नगरेको पनि बताए । विगतमा मन्त्रीमाथि छानबिन गर्दा पदमा बहालै रहेका उदाहरण भए पनि आफू त्यो नगर्ने उनले बताए ।

शर्मामाथि छानबिन गर्न आज प्रतिनिधि सभाले ११ सदस्यीय छानबिन समिति गठन गरेको थियो।

छानबिन गर्न समितिमा एमालेबाट ४, कांग्रेस र माओवादी केन्द्रबाट २/२, लोकतान्त्रिक समाजवादी, जनता समाजवादी र एकीकृत समाजवादीबाट १/१ जना सदस्य रहनेगरी समिति बनेको छ ।

संसदीय विशेष समितिमा सांसदहरु खगराज अधिकारी, देव गुरुङ, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, बिमला बिक, लक्ष्मणलाल कर्ण, शक्ति बस्नेत, सरला यादव, सीताराम महतो र सुरेन्द्र यादव रहेका छन् ।

सो समितिले बजेटमा करका दर हेरफेर गर्ने सम्बन्धमा अनधिकृत व्यक्ति प्रवेश गरेको विषय छनबिन गरी १० दिनभित्र प्रतिनिधिसभामा पेश गर्नुपर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here