स्थानीय तहको निर्वाचन भाँडिएको बाजुराको बूढीगंगामा आज कडा सुरक्षाबीच मतदान जारी

२३ असार, बाजुरा । वैशाखमा भएको स्थानीय तह निर्वाचन भाँडिएपछि रद्द भएको बाजुराको बुढीगंगा नगरपालिकामा आज मतदात जारी छ । कडा सुरक्षाका बीच मतदान शुरु भएको हो । बिहान ७ बजेदेखि मतदान थालिएको हो ।

बूढीगंगा नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका रंग खाती र एमालेका रामबहादुर बानियाँ उम्मेदवार छन् । १० वटा मतदानस्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट प्रहरी निरीक्षकको नेतृत्वको टोली खटाइएको छ ।

गत वैशाख ३० गते भएको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेबीच मतदानमा धाँधली भएको भन्दै विवाद भएपछि मतदान नै स्थगित गरिएको थियो । निर्वाचन आयोगले गरेको स्थलगत अध्ययनले पुनःनिर्वाचन गर्ने निष्कर्ष निकालेको थियो । निर्वाचन पुनः हुनुपर्ने माग गर्दै अदालतमा मुद्दासमेत परेको थियो ।

पछि सर्वदलीय सहमतिका आधारमा पुनः निर्वाचनको मिति तय गरिएको थियो । बूढीगंगाका केही वडाहरुमा कांग्रेस र एमालेका कार्यकर्ताहरुले बुथ कब्जा गरेर मतदान गरेको आरोप लागेपछि मतगणना हुन सकेको थिएन । स्थिति असहज भएपछि त्यहाँका निर्वाचन अधिकृत नै फिर्ता भएका थिए ।

पुनः निर्वाचन गर्नका लागि निर्वाचन आयोगले नयाँ निर्वाचन अधिकृतको रुपमा लक्ष्मण बहादुर कडायतलाई तोकेको छ । यसैगरी पहिलेका प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलको सट्टा प्रकाशचन्द्र अधिकारीलाई बाजुराको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको नेतृत्व पनि सरकारले फेरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here