‘कसैलाई काखापाखा गर्दिन्, पार्टीलाई पहिलो शक्ति बनाउनेतिर जोड दिऔं’

काठमाडौं, ३० साउन । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउनेतिर जोड दिन नेताकार्यकर्तालाई आग्रह गरेका छन् ।

कांग्रेसबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिका लागि सोमबार ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा आयोजित अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

मैले विशिष्ट परिस्थितिमा सरकारको नेतृत्व गरेको हुँ। कोभिड नियन्त्रण गर्ने, लोकतान्त्रिक मूल्यमान्यता स्थापित गर्ने र एमसीसी अनुमोदन गर्ने जिम्मेवारी थियो। त्यो पूरा गरेको छु’ उनले भने। कांग्रेसकै नेतृत्वमा स्थानीय तह निर्वाचन सफलतापूर्वक सम्पन्न भएको देउवाले बताए।

अबको ध्यान मंसिर ४ गतेका लागि केन्द्रित भएको बताउँदै देउवाले सबैले सोहीतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताए। ‘अघिल्लो पटक हामीले विपक्षी गठबन्धनका कारण जित्न सकेनौं। यसपटक हाम्रो गठबन्धनको सरकार छ। हामीले गठबन्धन गरेरै जाने हो। पार्टीभित्र मजबुत एकता कायम गरेर चुनावमा जाऔं,’ देउवाले भने।

देउवाले आफूले पार्टीभित्र सहमतिमै निर्णय गरेको दाबीसमेत गरे। आगामी दिनमा पनि पार्टीमा कसैलाई काखापाखा नगरिने उनको भनाइ छ। ‘मैले पार्टीभित्र सहमतिमा निर्णय गर्ने गरेको छु। आगामी दिनमा पनि कसैलाई काखापाखा हुन दिन्नँ। कतिपय ठाउँमा गठबन्धन भएर पनि हामी हार्नुपरेको छ। स्थानीय तहले जनताको मन जित्नुपर्छ। जनताभन्दा ठूलो कोही छैन,’ उनले भने।

जनता देशका मालिक भएको देउवाको भनाइ थियो। जनताको मन जित्नेगरी काम गर्न समेत उनले पार्टीबाट निर्वाचित प्रतिनिधिलाई निर्देशन दिएका छन्।

‘२०७४ सालमा एक्लै चुनाव लड्नुपर्ने अवस्था थियो। गठबन्धनले गर्दा हामी पराजित भयौं। यसपटक गठबन्धनका कारण हामी सरकारमा छौं,’ प्रधानमन्त्री देउवाले भने, ‘स्थानीय तहको निर्वाचन गठबन्धनकै कारण राम्रो भयो।’ उनले गठबन्धन भएपछि सजिलै निर्वाचन जितिन्छ भन्ने भ्रमबाट मुक्त हुन नेताकार्यकर्तालाई आग्रह गरे।

उनले जनताभन्दा ठुलो अरु कोही नहुने नभएकाले सबैले जनभावनाअनुरूप काम गर्नुपर्नेमा जोड दिए।’जनताभन्दा ठुलो कोही छैन। जनता यो देशको मालिक हो।

त्यसैले सर्वभौमसत्ता सम्पन्न जनता भनेको हो। त्यसैले पार्टीका साथीहरुले जनताको दिल जित्नु आवश्यक छ,’ देउवाले भने, ‘यस्तो अवस्थामा मात्र जनताले कांग्रेसलाई साथ दिनेछन्। आउँदा दिनमा जनताको दिल जित्नु छ। साथीहरु सबै यस कार्यमा लाग्न आग्रह गर्दछु।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here