काठमाडौंबाट फर्किए लगत्तै सामाजिक सञ्जालमा हर्क-बालेनको ‘दोहोरी ब्याटल’ !

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच सामाजिक सञ्जालमा दोहोरी चलेको छ ।

काठमाडौंको फोहोर व्यवस्थापनको बारेमा मेयर साम्पाङले बेला बेला सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै आएका छन् ।

केही दिन काठमाडौं बसेर प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाललगायत विभिन् पार्टीका शीर्ष नेताहरुसँग भेटेर फर्केलगत्तै उनको यस्तो स्टाटस आएको हो ।

मेयर साम्पाङले बुधबार साँझ सामाजिक संजालमा लेखे, ‘‘जसले जे भनोस्, म काठमाडौँ नगएको भए फोहोर उठ्ने थिएन रैछ। कमसेकम काम त सुरु गरे!’

फोहोर व्यवस्थापनको तनावमा जेलिएका मेयर शाहले साम्पाङलाई जवाफ फर्काए, ‘हो नि। तपाईँकै लौरो चुनाव चिन्ह लिएर मैले चुनाव पनि त जितेको हो नि।’

प्रत्युत्तरमा बुधबार राति मेयर सामपाङले पुनः लेखेका छन्, ‘आलोचना नै सुझाव हो भन्ने नबुझ्नेले के राजनीति गर्नु बेकारमा !’

विभिन्न टेलिभिजनलाई अन्तवार्ता दिने क्रममा मेयर साम्पाङले बालेनले जनताले आशा गरेअनुरुप काम गर्न नसकेको भन्दै राम्रोसँग काम गर्न सुझाब दिएका थिए ।

बालेन शाहले बुधबार मात्रै बञ्चरेडाँडाका स्थानीयसँग फोहोर फ्याँक्न तीनबुँदे सहमति गरेका छन् । अझै थप समस्या नआएमा अब केही दिनभित्रै काठमाडौंमा थुप्रिएको सबै फोहोर उठ्नेछ ।