नागरिकता विधेयक मतदान मार्फत हुबहु पारित, राष्ट्रपतिको सुझाव अस्वीकार

फाइलफोटो

काठमाडौं, २ भदौं । राष्ट्रपति विद्यादेवी भण्डारीले फर्काइदिएको नागरिकता विधेयक फेरि संसदबाट मतदानमार्फत पारित भएको छ। प्रतिनिधि सभाको बैठकबाट विधेयक हुबहु पारित भएको हो।

गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपतिले पुनर्विचार गर्न पठाएको विधेयक हुबहु पारितका लागि निर्णयार्थ पेश गरेपछि प्रमुख प्रतिपक्षी एमालेले विरोध गरेको थियो।

एमालेको माग अनुसार नै मतदान भएको थियो ।

संसदमा कूल उपस्थिति संख्या १९५ थियो। राष्ट्रपतिले फिर्ता पठाएकै रुपमा पारित गरियोस् भन्ने प्रस्तावको पक्षमा १३५ मत परेको छ । त्यस्तै विपक्षमा ६० मत झरेको थियो। यसैगरी हुन्न भन्ने पक्षमा पनि शून्य सांसदले मत हालेका छन्।

विधेयकमाथिको छलफलका क्रममा भाग लिँदै सत्ता पक्ष र प्रतिपक्षका ७७ बढी सांसदहरुले आ-आफ्नो धारणा राखेका थिए। विधेयकलाई जस्ताको तस्तै पारित गर्नुपर्ने र राष्ट्रिय सहमति कायम गरी पारित गर्नुपर्ने उनीहरुले तर्क गरेका थिए।

संसदका दुवै सदनबाट पास भइसकेको नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक १५ साउनमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि पठाएका थिए।

तर ,राष्ट्रपति भण्डारीले नेपालको संविधानबमोजिम नागरिकता प्राप्तिसम्बन्धी विषयमा संघीय संसद‍्बाट पुनःविचार हुन आवश्यक देखिएकाले संविधानको धारा ११३ को उपधारा ९३० बमोजिम १५ बुँदे सन्देशसहित साउन २९ गते साँझ प्रतिनिधिसभामा फिर्ता पठाएकी थिइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here