कर्णालीका मुख्यमन्त्री भन्छन्ः कर्णालीमा कर्मचारी नै छैनन् कसरी गर्नु विकास ?

काठमाडाैं, ७ साउन । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कर्मचारी अभावमा जनताको अपेक्षा अनुसार काम गर्न नसकेको बताएका छन् ।

काठमाडौंको रिपोर्टस क्लबमा भएको एक साक्षात्कार कार्यक्रममा उनले कर्मचारी अभावमा विकास निर्माणकाे काम पर्याप्त गर्न नसकेकाे बताएका हुन् ।

‘जनताको अपेक्षा अनुसारको काम हामीले गर्न सकेका छैनौं, जनताको चाहना धेरै माथि छ, उनीहरुले यो मुलुकमा तिव्र विकास चाहेका छन्’, उनले भने, ‘विकासको गतिमा विगतको भन्दा तिव्रता आएको छ तर, अपेक्षा अनुसारको काम अझै भएको छैन ।’

स्थानीय तह अहिले गाँउगाँउमा सडक पुर्याउने र खानेपानीको व्यवस्थापन गर्ने काम गरीरहेको तर, विकास गर्दा त्यसलाई गाँउगाँउमा ‘डोजर आतंक’ भएको भन्दै काठमाडौंमा अनावश्यक चर्चा भएको पनि बताए ।

प्रदेश सरकारले पर्याप्त विकास बजेट खर्च गर्न नसक्नुमा स्थानीय र केन्द्र सरकारले काम गरीरहेका योजनामा डुप्लिकेसन हुने सम्भावना भएकाले नयाँ योजना छनौट गरेर त्यसको अध्ययन गर्न समय लाग्नु मुख्य कारण भएको उनले बताए ।

त्यस्तै कर्णाली प्रदेशमा कर्मचारीको अभावले पनि जन चाहना अनुसार काम गर्न नसकेको बताए । उनले भने, ‘हामीलाई आर्थिक वर्ष सकिने बेलामा केहि कार्यालय हस्तान्तरण गरियो तर, त्यहाँ कुनै कर्मचारी थिएनन् खाली साइनबोर्ड मात्रै झुण्ड्याइएका थिए ।’

कर्मचारी खटाउने सन्दर्भमा पनि संघिय सरकारले २१ सय कर्मचारीको अस्थायी दरबन्दी तोकिएको तर त्यसअनुसार दरबन्दी पुरा नभएको उनले गुनासो गरे साथै खटाइएका कर्मचारी पनि बीचै हराएको उनले बताए ।

‘एक डेढ महिना सम्म पनि खटाएका कर्मचारी सम्पर्कमा आएनन, पछि धेरै खोजी गरेपछि मात्रै हाजिर हुन ताकेता भएपछि मात्रै आए । केन्द्रको दबाबमा कर्णाली आएको महसुस गरेर उत्साहपूर्ण काम गरेनन्’, उनले भने, ‘धेरै कर्मचारी त रिटार्यड हुन केहि महिना मात्रै बाँकी भएका थिए त्यसैले हामीले कर्मचारी अभावमा बजेट कार्यान्वयन गर्न सकेनौं ।’

बजेट कार्यान्वयनका लागि प्राविधिक जनशक्तिको अभावमा सीमित बजेट पनि ४० ४५ प्रतिशतको हाराहारीमा मात्रै खर्च गर्न सकेको उनले बताए । अहिले तीन हजार/पैंतीस सयकाे हाराहारीमा कर्मचारी आवश्यक भएकाे र तत्काल कर्मचारी उपलब्ध नभए कामकाज ठप्प हुने अवस्था रहेकाे उनले बताए ।

कर्मचारी खटाउने विषय र अन्य प्राविधिक विषयमा संघीय सरकारले प्रदेश र स्थानीय तहमा समन्वयकारी भूमिका खेल्नुपर्नेमा उनले जोड दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here