सामसङ टिभी अब नेपालमै बन्ने

काठमाडौं, ९ भदौ । बहुराष्ट्रिय कम्पनी सामसङ इलेक्ट्रोनिक्सको टेलिभिजन अब नेपालमै बन्ने भएको छ । दक्षिण कोरियाको सामसङ इलेक्ट्रोनिक्स कम्पनी लिमिटेड र गोल्छा ग्रूपको लगानीमा नवलपरासीको भूमहीमा टेलिभिजन उत्पादन प्लान्ट स्थापना गर्न लागेको हो । यससँगै नेपालमा विक्री गरिने सो कम्पनीका टेलिभिजनको एसेम्बल यहीँ गरिने छ ।

उक्त प्लान्टमा सामसङ र गोल्छा ग्रूपअन्तर्गतको हिम इलेक्ट्रोनिक्सको संयुक्त लगानी हुनेछ । हाल एसेम्बलिङ प्लान्टको पूर्वाधार निर्माणको तयारी शुरु गरिससकेको कम्पनीले जानकारी दिएको छ ।

बुधवार एक कार्यक्रमबीच उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले प्लान्ट शिलान्यास गरेका छन् । प्लान्ट सन् २०२३ भित्रै सञ्चालनमा ल्याउने गरी शुरू गरिएको हो । जसको पूर्वाधार र प्रविधिमा गरी ५० करोड रुपैयाँ लगानी हुनेछ । उक्त प्लान्टबाट दैनिक विभिन्न आकारका हजार थान टेलिभिजन र त्यसको प्यानलसमेत उत्पादन हुने बताइएको छ । केही दिनमै प्लान्टको फिटिङ शुरू हुने बताइएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षसमेत रहेका गोल्छा ग्रूपका अध्यक्ष शेखर गोल्छाले सामसङ इलेक्ट्रोनिक्ससँगको २२ वर्ष लामो व्यापार साझेदारीले नेपालमै टेलिभिजन उत्पादन गर्ने वातावरण बनेको बताए । समारोहलाई सम्बोधन गर्दै सामसङ दक्षिण पश्चिम एशियाका क्षेत्रीय अध्यक्ष एवं सिइओ केन काङले भने, “हाम्रो लामो समयदेखिको साझेदार हिम इलेकट्रोनिक्ससंग मिलेर हामीले नवलपरासीमा स्थापना गर्न लागेको यो नयाँ एलइडि टिभी कारखाना नेपाली जनता प्रतिको हाम्रो निरन्तर प्रतिबद्धताका साथै सामसङका उत्पादनहरु प्रति उपभोक्ताहरुले देखाउनु भएको बढ्दो विश्वास एवं मायाको प्रतिक हो ।

नेपालमा सन् १९९७ देखि सामसङले प्रवेश पाएको हो र आज देशमा यो ब्राण्ड घरेलु नाम बनिसकेको छ । हाल यसले आफ्नो साझेदार मार्फत् नेपालमा उपभोक्तामुखी इलेक्ट्रोनिक्स उत्पादनहरु टेलिभिजन, रेफ्रिजेरेटर, वासिङ मेसिन, माइक्रोवेव र स्मार्ट फोनहरु बिक्री वितरण गर्दै आइरहेको छ । नेपालमा ५०० भन्दा बढी इलेक्ट्रोनिक्स रिटेल स्टोरहरु र ग्राहक सेवा केन्द्रहरुको बलियो सञ्जालमार्फत् सामसङले सेवा प्रदान गर्दै आइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here