वैशाखयता विपद्का घटनामा २२१ जनाको मृत्यु, १ अर्ब बढीको क्षति

फाइलफोटो

काठमाडौं, १० असोज । नेपालमा प्राकृतिक विपद्का घटना बढिरहेका छन् । मुलुकभर वैशाखयता प्राकृतिक विपद्का घटनाबाट २२१ जनाको मृत्यु भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०७९ वैशाख १ गतेदेखि असोज पहिलो हप्तासम्मको अवधिमा भएका विपद्का घटनामा परी उनीहरूले ज्यान गुमाएका हुन् ।

सो समयमा १ हजार ७९७ वटा विपद्का घटना रेकर्ड भएका थिए । ती घटनामा परी २२१ जनाको मृत्यु, १३ जना वेपत्ता र ५२८ जना घाइते भएको प्राधिकरणले जनाएको छ ।

बढी मात्रामा चट्याङ्ग र पहिरोबाट धेरै मानिसले ज्यान मात्र गुमाएका छैनन्, भौतिक क्षति पनि उत्तिकै भएको छ।

पहिरोमा परि ५५ जनाको मृत्यु १ वेपत्ता र ४६ जना घाइते भएका छन् । चट्याङ लागेर ७२ जनाको मृत्यु भइसकेको छ । १९५ जना घाइते भएका छन् ।

प्राधिकरणका अनुसार गत वैशाखदेखि सर्पको टोकाइबाट १७, आगलागीमा परी २६, भारीवर्षाका कारण ५, बाढीमा परि ११ हुरी बतासका कारण ९, जनावरको आक्रमणबाट २० र वन डढेलोमा परी १ जनाको मृत्यु भएको छ ।

विपद्का घटनाबाट यस वर्ष २ हजार ३ सय २९ घरपरिवार प्रभावित भइसकेका छन् ।

पछिल्लो ६ महिनामा विपद्का घटनाले १ अर्ब ५ लाख २० हजार ९३५ रुपैयाँ बराबरको आर्थिक क्षति गरेको प्राधिकरणले जनाएको छ ।

यसवर्ष सबैभन्दा ठूलो आर्थिक क्षति आगलागीका घटनाले गरेको छ । आगलागीका घटनाबाट बितेको करिव साढे ६ महिनामा ८२ करोड ८२ लाख १ हजार १६ रुपैयाँ बराबरको आर्थिक क्षति गरेको छ ।

पहिरोबाट ८ करोड ५५ लाख ५८ हजार ७०० रुपैयाँ, बाढीबाट १ करोड ३२ लाख ४२ हजार रुपैयाँ, चट्याङबाट ३४ लाख ९२ हजार रुपैयाँ, भारीवर्षाबाट २ करोड ७७ लाख ४५ हजार १७५ रुपैयाँ र हुरीबतासबाट २ करोड ५४ लाख ११ हजार ८०० रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ ।

यस्तै, जनावरको आक्रमणबाट ३९ लाख ५ हजार १०० रुपैयाँ र वन डढेंलोबाट १ करोड २३ लाख ८५ हजार रुपैयाँ बराबरको आर्थिक भएको प्राधिकरणले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here