यूरोको भाउ लगातार खस्किँदै, अमेरिकी डलरको तुलनामा ५ रुपैयाँ सस्तो

काठमाडौं, १२ असोज । यूरोपियन मुद्राको भाउ लगातार खस्किँदै गएको छ । २० बर्षपछि अमेरिकी डलरको तुलनामा युरोपियन युरोको भाउ सस्तिएको छ ।

अमेरिकी डलरको तुलनामा यूरो २० वर्षयताकै कमजोर भएपछि बजारमा अमेरिकी डलरको तुलनामा र युरोको भाउ सस्तिन पुगेको छ ।

अमेरिकी डलरको भाउ निरन्तर रुपमा बढिरहेको बेला नेपाल राष्ट्र बैंकका अनुसार आज बुधबार डलरको बिक्रिदर १३० रुपैयाँ ८४ पैसा पुगेको छ । साथै, खरिददर १३० रुपैयाँ २४ पैसामा कायम भएको छ ।

त्यस्तै, आज युरोको बिक्रीदर १२५ रुपैयाँ ९६ पैसा छ भने खरिददर १२५ रुपैयाँ ३८ पैसा रहेको छ । क्यानेडियन डलर एकको खरिदमूल्य ९५ रुपैयाँ ५४ पैसा र बिक्रीमूल्य ९५ रुपैयाँ ९८ पैसा रहेको छ ।

यसैगरी साउदी अरेवियन रियाल एकको खरिदमा ३४ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३४ रुपैयाँ ८१ पैसा, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६९ पैसा रहेको छ ।

मलेसियन रिंग्गेट एकको खरिदमूल्य २८ रुपैयाँ ३१ पैसा र बिक्रीमूल्य २८ रुपैयाँ ४४ पैसा, साउथ कोरियन वन १०० को खरिदमा ९ रुपैयाँ १० पैसा र बिक्रीमा ९ रुपैयाँ १५ पैसा रहेको छ ।

१७ पुस २०५५ मा यूरोपेली संघका ११ सदस्य मुलुकले एकल मुद्रा प्रणाली सञ्चालन गर्ने भनेर युरो प्रचलनमा ल्याएका थिए ।

अहिले युरोपका १९ मुलुकले यो मुद्रालाई बैधानिक भुक्तानीको माध्यमक अर्थात् राष्ट्रिय मुद्रा मानेका छन् । जर्मनी, फ्रान्स, इटली, स्पेन, नेदरल्याण्ड्स, पोर्चुगल, ग्रीस, बेल्जियम, अस्ट्रिया, स्लोभाकिया, फिनल्याण्ड, आयरल्याण्ड, लात्भिया, स्लोभेनिया, इस्टोनिया, साइप्रस, लक्जम्बर्ग र माल्टा यूरोजोनका सदस्य छन् ।

यी देशमा कति नेपाली छन् भन्ने स्पष्ट आँकडा नभए पनि थुप्रै नेपाली बसिरहेका छन् । यूरो कमजोर हुँदा यी मुलुकमा रहेर काम गर्ने नेपालीले पठाउने रेमिटेन्समा असर पर्नेछ ।

त्यसको सोझो प्रभाव रेमिटेन्सले धानेको नेपाली अर्थतन्त्रमा पर्न जानेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here