अघिल्लो आवको तुलनामा ३२ अर्ब कम वैदेशिक लगानी, चीनबाट ४ गुणाले घट्याे

–जितेन्द्र खनाल

काठमाडौं, १० साउन । उद्योगहरुमा हुने प्रत्यक्ष वैदेशिक लगानी ठूलो मात्रामा घटेको तथ्यांक सार्वजनिक भएको छ ।

उद्योग विभागको तथ्यांक अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष ०७५/७६ मा प्रत्यक्ष वैदेशिक लगानी ५७ प्रतिशतले घटेको हो ।

आर्थिक वर्ष ०७५/७६ मा २३ अर्ब ९४ करोड रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानीको प्रतिबद्धता सहित उद्योग दर्ता भएका छन् ।

जबकी अघिल्लो आर्थिक वर्ष ०७४/७५ मा भने ५५ अर्ब ७६ करोड रुपैयाँको प्रत्यक्ष वैदेशिक लगानीको प्रतिबद्धता सहित उद्योग दर्ता भएका थिए ।

विभागका अनुसार आव ०७५/७६ मा विभिन्न ३१ देशबाट लगानीको प्रतिबद्धता सहित ३३७ उद्योग दर्ता भएका छन् । यस वर्ष सबैभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता चीनबाट आएको छ ।

सबैभन्दा धेरै लगानी गर्ने देश चीन

आव ०७५/७६ मा सबैभन्दा धेरै लगानी चीनबाट हुने गरी उद्योग दर्ता भएका छन् । चीनबाट १ सय ६० प्रोजेक्टमा १२ अर्ब १२ करोड रकम लगानी हुने बताइएको छ ।

तर, चीनबाट आउने प्रत्यक्ष वैदेशिक लगानी अघिल्लो आर्थिक वर्षको भन्दा झण्डै ४ गुणाले कम हो । आर्थिक वर्ष ०७४/७५ मा चीनबाट मात्रै ४६ अर्ब ५३ करोड लगानी प्रतिबद्धता भएको थियो ।

भारत
प्रत्यक्ष वैदेशिक लगानी धेरै गर्ने देशको सूचीमा दोस्रो स्थानमा भारत रहेको छ । भारतबाट आव ०७५/७६ मा ४९ प्रोजेक्टमा ६ अर्ब १९ करोड रकम लगानी हुने बताइएको छ ।

अघिल्लो आर्थिक वर्षमा भने भारतबाट ५ अर्ब ९ करोडको मात्रै वैदेशिक लगानी हुने गरी उद्योग दर्ता भएका थिए ।

सिंगापुर

आर्थिक वर्ष ०७५/७६ मा भारत र चीन पछि सिंगापुरबाट धेरै वैदेशिक लगानीको उद्योग दर्ता भएका छन् । विभागका अनुसार सिंगापुरबाट ५ वटा प्रोजेक्टमा १ अर्ब ५० करोड लगानी हुने बताइएको छ ।

अघिल्लो आर्थिक वर्षमा भने सिंगापुरबाट ६ करोड ५० लाख मात्रै लगानी भएको थियो ।

दक्षिण कोरिया

आव ०७५/७६ मा सबैभन्दा धेरै प्रत्यक्ष वैदेशिक लगानी गर्ने देशको चौंथो स्थानमा दक्षिण कोरिया रहेको छ ।

दक्षिण कोरियाले २० वटा प्रजेक्टमा ७० करोड ४४ लाख लगानी हुने बताइएको छ । अघिल्लो वर्ष भने कोरियाबाट ३३ करोड मात्रै वैदेशिक लगानी भएको थियो ।

अमेरिका

उद्योग विभागको तथ्यांक अनुसार आर्थिक वर्ष ०७५/७६ मा अमेरिका नेपालमा लगानी गर्ने राष्ट्रको पाँचौ स्थानमा रहेको छ ।

अमेरिकाले १५ प्रोजक्टमा २५ करोड ५० लाख रुपैयाँ लगानी गरेको छ । अघिल्लो वर्ष भने अमेरिकाबाट १ अर्ब ८ करोड भन्दा बढी वैदेशिक लगानी आएको थियो ।

जापान
जापानबाट आव ०७५/७६ मा १८ वटा प्रोजेक्टमा १७ करोड ५७ लाख रुपैयाँ लगानी भएको छ । अघिल्लो वर्ष भने जापानबाट ४३ करोड लगानी भएको थियो ।
माथिका बाहेक अन्य देशबाट पनि नेपालमा लगानी आएको छ । विभागको तथ्यांक अनुसार सामोआबाट ३ वटा प्रोजेक्टमा १० करोड रुपैयाँ लगानी भएको छ ।
त्यस्तै मरिससबाट पनि एउटा प्रोजेक्टमा ८० करोड लगानी प्रतिबद्धता आएको छ ।

यी क्षेत्रमा बढी वैदेशिक लगानी ?

उद्योग विभागको तथ्यांक अनुसार आव ०७५/७६ मा सबैभन्दा धेरै प्रत्यक्ष वैदेशिक लगानी पर्यटन क्षेत्रमा भएको छ । पर्यटन क्षेत्रमा विभिन्न देशहरुबाट १ सय २८ वटा प्रोजेक्टमा १० अर्ब १८ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको छ ।

त्यस्तै पर्यटनपछि सेवा क्षेत्रका १ सय ५ वटा प्रोजेक्टमा ६ अर्ब ४० करोड रुपैयाँ बराबरको वैदेशिक लगानीका उद्योग दर्ता भएका छन् ।

प्रत्यक्ष वैदेशिक लगानी धेरै भएको अर्को क्षेत्र निर्माण रहेको छ । आव ०७५/७६ मा निर्माण क्षेत्रका ६१ प्रोजेक्टमा विभिन्न विभिन्न देशहरुबाट ६ अर्ब २८ करोड रुपैयाँ बराबरको लगानी हुने गरी उद्योग दर्ता भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here