रुसले अमेरिकालाई दियो प्रत्यक्ष सैनिक युद्धको चेतावनी

काठमाडौं, १९ असोज । रुसले अमेरिकालाई प्रत्यक्ष सैन्य युद्धको चेतावनी दिएको छ । युक्रेनलाई थप सैन्य सहायता पठाउने संयुक्त राज्य अमेरिकाको निर्णयले रुस र पश्चिमा देशबीच प्रत्यक्ष सैनिक द्वन्द्वको खतरा बढाएको मस्कोले चेतावनी दिएको बीबीसीले लेखेको छ ।

अमेरिका अहिलेको द्वन्द्वको एउटा पक्ष भएको भन्दै अमेरिकाका लागि रुसी राजदूत एनाटोली एन्टोनोभले अमेरिकी कदम मस्कोका लागि सीधा खतरा भएको बताए। अमेरिकाले युक्रेनलाई अर्को ६२५ मिलियन डलर बराबरको सैन्य सहायता घोषणा गरेको छ।

अहिले जारी द्वन्द्वमा युक्रेनी फौजले रुसी फौजविरुद्ध सफलता हासिल गर्दै जानुको पछाडि अमेरिकी अस्त्रहरूको योगदान रहेको बताइन्छ। पछिल्ला साताहरूमा युक्रेनी फौजहरूले देशको पूर्वोत्तर र दक्षिणी क्षेत्रमा महत्त्वपूर्ण सफलता हासिल गरिरहेका छन्।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत फेब्रुअरी २४ तारिखमा युक्रेनमाथि आक्रमण शुरू गराएयता किएभलाई वाशिङ्गटन दिएको सैन्य सहायता करिब १७ अर्ब डलर बराबर पुगेको छ।

बिहीवार एउटा वक्तव्यमार्फत्‌ रुसी राजदूत एन्टोनोभले किएथस्थित सत्तालाई अस्त्रहरू दिइराख्नुको अर्थ वाशिङ्गटन द्वन्द्वको एउटा पक्ष हुने चेतावनी दिएका हुन्। त्यसले अहिलेको रक्तपातलाई लम्ब्याउने र नयाँ हताहती निम्त्याउने् उनको दाबी छ ।

‘एकदमै गम्भीर परिणाम निम्त्याउन सक्ने उक्साहटपूर्ण कामहरू बन्द गर्न हामी वाशिङ्गटनलाई आग्रह गर्छौँ,’ रुसी रादजूतले भनेका छन् । पछिल्ला हप्ताहरूमा युद्ध मैदानमा युक्रेनसँग ठूलो पराजय बेहोरिरहेको रुसले उपलब्ध सबै माध्यमबाट प्रतिरक्षा गर्ने बताएको छ।

सो क्रममा उसले परमाणुअस्त्रको प्रयोगको सम्भावनालाई पनि नकारेको छैन। मस्कोले युक्रेनका चार क्षेत्र : डोनेट्स्क, लुहान्स्क, खेअरसन र ज्यापोरिज्यालाई रुसमा गाभ्ने प्रयासलाई बल दिइरहेको छ। यद्यपि उसले अहिलेसम्म कुनै क्षेत्रमाथि पूर्ण रूपमा नियन्त्रण गरिसकेको छैन र पछिल्ला दिनमा युक्रेनी फौजहरूले खेअरसन क्षेत्रमा प्रगति हासिल गरिरहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here