थाइल्याण्डमा प्रि–स्कूल डेकेअर सेन्टरमा अन्धाधुन्ध आक्रमण, बालबालिकासहित ३४ को हत्या

Photo : AP

बैंकक\बीबीसी, २० असोज । थाईल्यान्डस्थित एउटा प्रि–स्कूल डेकेअर सेन्टरमा एक पूर्वप्रहरी अधिकारीले बन्दुक तथा चक्कु आक्रमण गर्दा कम्तीमा ३४ जान मारिएका छन्। नोङ्ग बुआ लाम्पु प्रान्तमा भएको घटनालगत्तै प्रहरीले खोजी कार्य शुरू गरेपछि आक्रमणकारीले परिवारका सदस्यलाई मारेर पछि आफ्नै ज्यान लिएका थिए। बन्दुक तथा चक्कु आक्रमणमा परी ज्यान गुमाउनेमा बालबालिका तथा वयस्क पनि छन्।

भाग्नुअघि आक्रमणकारीले पीडितहरूमाथि गोली चलाउनुका साथै चक्कु पनि प्रहार गरेका थिए। आक्रमणको उद्देश्य थाहा हुन सकेको छैन। तर प्रहरीका अनुसार उनी गत वर्ष मात्रै बर्खास्तीमा परेका थिए ।

आक्रमणमा मारिनेमा दुई वर्षसम्मका बालबालिका पनि रहेको विवरणमा जनाइएको छ। कम्तीमा १२ जना घाइते भएका छन्। खाना खाने समयमा आएर आक्रमणकारीले शुरूमा बालस्याहार केन्द्रका चार अथवा पाँचजना अधिकारीको गोली हानी हत्या गरेका थिए ।

बालबालिका सुतिरहेको कोठामा आक्रमणकारी पुगेर हत्या गरेको बताइएको छ । थाई प्रधानमन्त्री प्रायुथ चान-ओचाले त्यसलाई स्तब्ध बनाउने घटना भनेका छन्। आक्रमणकारीको नाम पान्या काम्राब भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घटनापछि उनी ब्याङ्ककमा दर्ता गरिएको नम्बर प्लेट भएको सेतो चारढोके टोयोटा पिकअप ट्रक चढेर भागेका थिए।

घटनामा ज्यान गुमाउनेमा २३ जना बालबालिका रहेको नोङ्ग बुआ लाम्पु प्रान्तस्थित एक वरिष्ठ प्रहरी अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ। थाईल्यान्डमा गोली हानेर ठूलो सङ्ख्यामा मान्छे मार्ने घटना विरलै हुन्छ। सन् २०२० मा न्याकोन र्‍याटचासिमा शहरमा एक सैनिकले गोली हानी २१ जनाको हत्या गरेका थिए भने अन्य कैयौँलाई घाइते बनाएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here