भीम रावललाई टिकट नदिएपछि अछाममा विद्रोह, ४० बढी नेताद्वारा सामूहिक राजीनामा

काठमाडौं । भीम रावललाई टिकट नदिएपछि नेकपा एमाले अछाममा विद्रोह भएको छ । उनीहरुले शनिबार एमाले अछामका जिल्ला कमिटी अध्यक्षलाई सम्बोधन गर्दै राजीनामा दिएका हुन्।

प्रतिनिधि सभा निर्वाचनमा भीम रावललाई अछाम- १ का एकल उम्मेदवार सिफारिस गरिए पनि पार्टी केन्द्रले टिकट वितरण गर्दा बेवास्ता गरिएको भन्दै राजीनामा दिइएको हो।

राजीनामा दिनेमा ३० जिल्ला कमिटी सदस्य छन्। त्यस्तै, बाँकी सल्लाहकार छन्। एमाले छाडेको घोषणा गर्नेमा जिल्ला कमिटी सचिवालय सदस्यहरु प्रकाश शाह, केशर मियाँ, बालगिरी कुँवर, सागर सिंह बाब्ली छन् ।

‘तल्लो कमिटीद्वारा गरिएको सर्वसम्मत निर्णयको बेवास्ता तथा पार्टी नेता, कार्यकर्ता एवं जनभावनाको विपरीत निर्णय भएकोले घोर भर्त्सना गर्दै हामी तपसिल बमोजिमका व्यक्तिहरु आ-आफ्नो पदीय जिम्मेवारीबाट आजैका मितिदेखि लागू हुनेगरी सामूहिक राजीनामा गर्दछौँ’, राजीनामा पत्रमा भनिएको छ।

अछाम १ बाट रावलको नाम एकल रुपमा सिफारिस भएर आए पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले उनलाई टिकट दिएका थिएनन् । ओलीले रावलको क्षेत्रमा भपट बोहोरालाई टिकट दिएका थिए । बोहोरा नेकपा माओवादी केन्द्र त्यागेर एमाले प्रवेश गरेका हुन् ।

सुदूरपश्चिम प्रदेश सरकारका पूर्व आर्थिक मामिलामन्त्री समेत रहेका अछाम १ मा टिकट पाएका बोहरा माओवादीबाट एमालेमा समाहित भएका नेता हुन् । एमाले नेता रावलले अछामबाट विसं २०४८ सालदेखि नै चुनाव लड्दै आएका छन् ।

०४८ सालमा चुनाव हारेका रावल ०५१ सालको मध्यावधि चुनावमा अछाम १ बाट विजयी भएका थिए । रावलले ०५६ सालको चुनावमा एमाले–माले फुटेको कारण फेरि चुनाव हारेका थिए ।

त्यसपछि ०६४ को चुनावमा उनी समानुपातिकतर्फ संविधानसभा सदस्य भएका थिए । ०७४ को चुनावमा रावल क्षेत्र नम्बर १ बाटै सांसद जितेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here