रुपन्देही १ बाट चुनाव लड्ने घनश्याम भुसालको घोषणा, सत्ता गठबन्धनले सहयोग गर्ने

काठमाडौं । आगामी मंसिर ४ गते हुने निर्वाचनमा टिकट नपाएपछि एमाले परित्याग गरेका नेता घनश्याम भुसालले स्वतन्त्र उम्मेदवारीको घोषणा गरेका छन्।

उनले प्रतिनिधि सभाका लागि रुपन्देही १ बाट उम्मेदवारी घोषणा गरेका हुन्।

आइतबार बिहान सञ्चारकर्मीमाझ उनले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। यद्यपि स्वतन्त्र भने पनि उनी गठबन्धनको सहयोगमा उम्मेदवार बनेका छन्। आफूलाई सत्तारुढ गठबन्धनले निर्वाचनमा सहयोग गर्ने बताएका छन्।

स्वतन्त्र उम्मेदवारका रुपमा रहने सत्ता गठबन्धनले पनि समर्थन गर्ने भन्दै प्रचण्ड र आफूसँग भएको कुरा पत्रकार सम्मेलनमा यसरी सुनाए।

‘उहाँहरुले तपाईं स्वतन्त्र रहनुस्, हाम्रो चुनाव चिह्नमा लड्नूस् भन्नुभएको थियो। म आफैं गएको एक वर्ष वाम एकताको कुरा गरेबापत किनारामा परेको मान्छे। यसर्थ वाम एकताको यो झण्डा मेरो राजनीतिक आजको झण्डा हो।

यसलाई कमजाेर हुन दिने खालको कुनै कुरा नगरौं भन्ने मलाई लाग्छ। तपाईंले भन्नुभएको प्रस्तावका लागि धन्यवाद छ। तपाईंहरुले मलाई स्वतन्त्र नै हुन दिनूस् भनेर मैले भनें। त्यसका लागि उहाँले मैले प्रधानमन्त्री तथा कांग्रेस सभापतिसँग कुरा गर्नुपर्छ भन्नुभयो।

राति साढे १२ बजेतिर कमरेड प्रचण्डले मलाई फोन गरेर भन्नुभयो – प्रधानमन्त्रीसँग पनि मैले कुरा गरिसकेको छु। माधव कमरेडसँग पनि कुरा गरेको छु, तपाईंलाई हामीले समर्थन गर्छाैं।

हाम्रो तर्फबाट उम्मेदवारी हुँदैन। हाम्रो सम्पूर्ण शक्ति तपाईंको पक्षमा लाग्छ। तपाईं अघि बढ्नूस् भनेर भन्नुभयो। यसरी मैले गठबन्धनले समर्थन गरेको स्वतन्त्र वाम उम्मेदवारका रुपमा आज गएर आफ्नो उम्मेदवारी दर्ता गर्ने निर्णय गरेको छु।’

उनले आफू वाम लोकतान्त्रिक उम्मेदवार भएको दाबीसमेत गरेका छन्। रुपन्देही १ मा माओवादीको भाग परेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here