नौबिसे-नागढुंगा सुरुङमार्ग निर्माण तीव्र, मुख्य सुरुङ खन्ने काम ६५.३० प्रतिशत सकियो

काठमाडौं, २५ असोज । राष्ट्रिय गौरव आयोजना नौबिसे-नागढुंगा सुरुङमार्ग निर्माण तीव्र गतिमा अघि बढेको छ ।

कुल ५ हजार ४ सय ९९ मिटर खन्नुपर्ने उक्त सुरुङमार्गको काम तीव्र रुपमा अघि बढ्दा हालसम्म कामको ६५.३० प्रतिशत काम सम्पन्न भएको आयोजनाले जानकारी दिएको छ ।

नागढुंगा-नौबिसे सुरुङमार्ग आयोजनाका अनुसार असोज २४ गतेसम्म सुरुङ खन्ने काम ३ हजार ५९३ मिटर सुरुङ खन्ने काम पूरा भएको हो ।

काठमाडौंतर्फ मुख्य सुरुङ ७८३.४० मिटर र इभाकुएसन ९६६.९० मिटर पूरा भएको छ ।

धादिङतर्फ ८१०.४० मिटर मुख्य र ८३२.५० मिटर इभाकुएसन टनेल खन्‍ने काम सकिएको छ । धादिङतर्फ १ सय २६ मिटर अडिट टनेल पूरा भएको छ भने ७४.२० मिटर क्रस प्यासेज निर्माण भएको छ ।

इभाकुएसन टनेल आपत्कालीन अवस्थामा प्रयोगका लागि मुख्य सुरुङमार्गसँगै समानान्तर हुनेगरी बनाइने सुरुङ हो ।

सुरुङमार्गको फिनिसिङको काम पनि दुवैतर्फबाट भइरहेको आयोजनाले जनाएको छ ।

नेपालकै पहिलो सुरुङमार्गको रुपमा रहेको यस आयोजनाको काठमाडौंतिरको पोर्टल चन्द्रागिरी नगरपालिका–१ को टुटीपाखामा रहनेछ भने धादिङतिरको पोर्टल धुनिबेंसी नगरपालिकाको सिस्नेखोलामा रहने छ ।

टनेलमा मुख्य दुई वटा लेन हुनेछ । बीचमा थप एउटा सानो साइड लेन छ । सवारी साधन बिग्रिए साइड लगाउन उक्त लेन प्रयोग हुनेछ ।

नागढुंगा सुरुङमार्गको निर्माण अवधि २०७९ चैत २३ गतेसम्म रहेको छ । कोभिडका कारणले ढिलाइ हुन गएकोमा म्याद थप गरिएको छ ।

यो आयोजना २०७६ कात्तिक ४४ महिनाभित्र सक्ने गरी निर्माण सुरु गरिए पनि सम्पूर्ण भौतिक प्रगतिको काम ४४ प्रतिशत मात्रै भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here