डलरको मूल्य वृद्धि प्रभाव : जापानी येन ३२ वर्षयताकै कमजोर

काठमाडौं । जापानी मुद्रा येन अमेरिकी डलरको तुलनामा ३२ वर्ष यताकै सबभन्दा कमजोर बनेको छ । अमेरिकामा अपेक्षा गरिएभन्दा तीव्र गतिमा मूल्यवृद्धि भइरहेका आधिकारिक आँकडा सार्वजनिक भएपछि जापानी येन न्यून विन्दुमा पुगेको बीबीसीले जनाएको छ ।

प्रति अमेरिकी डलर १४७.६६ येन पुगेको थियो र पछि त्यो अलिकति माथि उक्लियो। जापानका अर्थमन्त्री शुनिची सुजुकीले मुद्रा अस्थिर बनेको विषयलाई सम्बोधन गर्न उचित कदम चालिने बताएका छन्। एउटा दुर्लभ प्रकृतिको कारबाही गर्दै गत महिना जापानले आफ्नो कमजोर बन्दै गएको मुद्रालाई उकास्न २० अर्ब डलर खर्च गरेको थियो।

‘सट्टेबाजी शैलीद्वारा निर्देशित मुद्रा बजारको अस्थिरता हामी सहने छैनौँ। निकै गम्भीरताका साथ हामी मुद्रा बजार नियालिरहेका छौँ,’ सुजुकीले वाशिङ्टन डिसीमा जी सेभेन समूहको बैठकपश्चात् पत्रकारहरूलाई भनेका थिए।

गत महिना जापानले येनलाई उकास्न विश्व मुद्रा बजारमा हस्तक्षेप गरेको थियो। २४ वर्षयताकै सबभन्दा कमजोर विन्दुमा येन पुगेपछि जापान सरकारले उक्त कदम चालेको थियो। त्योभन्दा अगाडि जापान सरकारले सन् १९९८ मा मात्र मुद्रा बजारमा त्यसरी हस्तक्षेप गरेको थियो।

तर विश्लेषकहरूले चाहिँ अमेरिकाको तुलनामा जापानमा निकै कम ब्याज दर रहेसम्म यस्ता हस्तक्षेपको खासै कुनै प्रभाव नहुने बताएका छन्। पछिल्ला महिनाहरूमा जापानी येनमाथि लगातार चाप बढिरहेको छ।

दुई देशका केन्द्रीय ब्याङ्कहरूले अपनाएका भिन्न नीति नै त्यसको मुख्य कारण भएको बताइएको छ। बिहीवार अमेरिकामा प्रकाशित पछिल्ला विवरणमा त्यहाँ गत महिना अपेक्षा गरिएभन्दा धेरै उपभोक्ता मूल्य वृद्धि भएको देखियो।

अर्थात् विश्वको सबभन्दा ठूलो अर्थतन्त्र मुद्रास्फितिसँग सङ्घर्षरत छ। महँगीसँग जुझ्न फेडरल रिजर्भले निरन्तर ब्याज दर बढाइरहेको छ।

यसले लगानीकर्ताहरूका निम्ति डलर झन् झन् आकर्षक बनेको छ। जबकी ब्याङ्क अफ जापानले चाहिँ ब्याज दर कम पारिरहेको छ। डलरको बढ्दो शक्तिका कारण पाउण्ड र युरोजस्ता अन्य मुख्य अन्तर्राष्ट्रिय मुद्राहरूको मूल्यमा पनि प्रभाव परिरहेको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here