‘सुविधाजनक जीवन जिउन राजनीतिमा लागेको होइन्,काम गरेर देखाउँछु’ : डा. प्रद्युम्न महत

कुराकानीको सुरुवातमै उहाँले भन्नुभयो ‘मैंले भन्न चाहेको र बोलेको शब्द ठ्याक्कै मेल नखाला त्यस्तो भए फेरि सोध्नुस् ल ! मलाई ठूला ठूला राजनीतिक कुरा गर्न, सोझा जनतालाई लोभ्याउने भाषण गर्न, गर्न नसक्ने र अनावश्यक बोल्न आउँदैन ।’ उहाँ अर्थात् डा. प्रद्युम्न महत । नुवाकोट जिल्ला क्षेत्र नम्वर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार ।

देशभरनै चासो, चर्चा र उत्साहका साथ हेरिएको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टिबाट उम्मेदवार बन्नुभएका डा. महत पेशाले रसायन शास्त्रका विज्ञ तथा प्राध्यापक हुनुहुन्छ ।
‘मलाई जिविको पार्जन गर्न, काठमाडौं वा सम्पन्न देशमा गएर काम गरेर महिनाको एक दुईलाख कमाई र सुविधाजनक जीवन जिउन राजनीतिमा लाग्न आवश्यक छैन । तर मेरो मनलाई यो सबै कुराले पोल्छ ।

किनभने मैंले कडा मेहनत, कठोर परिश्रम गरेर आर्जेको ज्ञान, सिप आफ्नो जन्मथलो र जिल्लाको लागि हितमा सदुपयोग गरिन, आफ्नै सुख सयलमा मात्र खर्च गरें भने मलाई म जन्मेको माटोको श्राप लाग्छ ।’ आसन्न निर्वाचनमा उम्मेदवारी दर्तापछि चुनावी मैदानमा होमिएका डा. महतले शान्त र नम्र स्वरमा भन्नुभयो ‘काठमाडौंमा महल ठड्याउने, आफु सुख सयलमा बसेर जिल्लाको दुर्दशा हेरिरहन सकिन र मैंले आफैं नेतृत्वमा पुगेर काम गरेर देखाउने अठोट गरेर उम्मेदवारी दिएं ।’

ताइवानको प्रतिष्ठित चुङ यान विश्वविद्यालयबाट रसायनशास्त्रमा विद्यावारिधि गर्नुभएका डा. महत नेपालका रहनु भएका सिमित रसायन वैज्ञानिक मध्येमा पर्नुहुन्छ । ‘सन् २०१८ मा विद्यावारिधि गरे लगत्तै ताइवान र अन्य विकसित ठूला देशमा पाएको आकर्षक अवसर र मौकालाई त्यागेर देशमा नै केही गर्छु भनेर फर्किएका थिएं’ देशमानै केही गर्ने हुटहुटीले राम्रा अवसर र बिदेशको सुख सुविधा त्यागेर स्वदेश फर्किएका डा. महत भन्नुहुन्छ ‘नेपालको दाँजोमा ताइवानको सुख, सुविधा, विकास र अवसर लिएर उतै बसेर वा अरु विकसित देश जान पनि सक्थें । मैंले त्यस्तो मौका र प्रस्ताव पनि पाएको थिएं तर मनले भन्यो हुँदैन नेपालमा नै केही गर्नुपर्छ, आफु जन्मेको माटो र देशको लागि केही गर्नुपर्छ भन्ने दृढता र अठोट बोकेर नेपाल फर्किएको थिएं ।’

डेढ दशक देखि अमृत साईन्स क्याम्पस लगायत विभिन्न क्याम्पसहरुमा अध्यापन गराउँदै आउनुभएका डा. महत शैक्षिक तथा रशायन शास्त्रको क्षेत्रमा नेपालमा विज्ञका रुपमा सुरपरिचित नाम हो ।

‘अहिलेसम्म एउटा नागरिकको रुपमा मत दिंदा कुनैपनि अवसर वा लाभको लागि मत दिइएन, देश बनोस्, सरकार र निर्वाचित प्रतिनिधिले जिम्मेवारी बोध गरेर काम गरुन् भन्ने थियो । तर कहिल्यै त्यसो भएन ।’

नेपालको शैक्षिक क्षेत्रमा गरेको विशिष्ठ योगदानको कदर स्वरुप नेपाल विद्या भुषण ‘क’ बाट सम्मानित भइसक्नु भएका विज्ञ डा. प्रद्युम्न महतले विद्यमान पुरातन दलहरु र नेताका बारेमा भन्नुभयो ‘पार्टि र पार्टिका उम्मेदवारहरुले एक पटक मात्र नभई निरन्तर जनताको मत र विश्वासको अवमुल्यन गर्दै जाँदा देश प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतन्त्रमा आइपुग्दा समेत झन पछि झन भद्रगोल अवस्थामा पुगेको छ ।’

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान मार्फत रसायन शास्त्रमा गरेको विभिन्न अध्ययन र अनुसन्धानको उच्च सम्मान स्वरुप युवा वैज्ञानिक पुरस्कारबाट पुरस्कृत प्रतिनिधिसभामा उम्मेदवार डा. महतले भन्नुभयो ‘अहिलेसम्म मैंले कोही पनि विद्यार्थी देशमा भविष्य छ, देशमै केही गर्छु भन्ने भेटेको छैन । सके राम्रो विकसित देश उच्च शिक्षा पढ्न जाने, नभए सकेको देश रोजगारी गर्न जाने योजना बनाउँछन् ।

केही सिप नलागे विकसित शहरमै कुनै कम्पनीतिर वा सरकारी जागिर खाने भन्छन् । जनतामा यत्रो निरास र युवाहरुमा देशमा बस्न मन नलाग्ने बनाएको कसले ? सिधा र सोझो जवाफ हो “अहिले सत्तामा रहेका र सत्ता वरिपरि रहेका २०४७ सालयता सत्तामा रहेका सबै दल र तिनका नेताहरुले ।” अनि, अब फेरिपनि यिनै दल र पुरानै नेताहरुलाई अब चाहिँ काम गर्छौं भनेर झुटो आश्वासन पत्याएर फेरि पाँच बर्ष क्षमा दिएर जितायौं भने सोच्नुस्, अब देश कहिल्यै बन्दैन, किनकि हामी जनता कहिल्यै सुध्रंदो रहेनछौं भनेर यि नेताहरुले हामीलाई सँधै दास बनाउनेछन् ।’

अन्तर्राष्ट्रिय रुपमा समेत इनोभेटिभ रिसर्च अफ दि इयर २०२१ बाट सम्मानित डा. महतका विज्ञान र प्रविधिको क्षेत्रमा गरिएका करिव २ दर्जन बढि अन्तर्राष्ट्रिय स्तरको लेखहरु विश्वका उत्कृष्ठ जर्नलहरुमा प्रकाशित भएका छन् । विश्व स्तरिय मञ्चहरुमा नेपालका विज्ञ रसायन शास्त्रीको रुपमा प्रतिनिधित्व गर्दै आउनुभएका युवा वैज्ञानिक निर्वाचनमा उम्मेदवार बनेर होमिंदै गर्दा पुराना दलहरु र नेताबाट निरास, थोरै आक्रोससँगै नयाँ युवा पुस्तासँग धेरै आशावादी देखिनुभयो ।

‘प्रजातन्त्र र गणतन्त्रको पछिल्लो तीन दशकमा देशका शहरहरुमा केही महलहरु त ठडिएका छन् । तर त्यसले सिमित व्यक्तिमा मात्र सम्पन्नता थपेको छ । देशको अवस्था झन विकराल बन्दै गएको छ । यसको अर्थ हो हामीले सांसद बनाएर पठाएका नेताहरुले जनतालाई होइन, सिमित धनाढ्य वा माथिल्लो वर्गमा मानिसहरुलाई भलो हुनेगरि मात्र काम गरे । हाम्रो बुवाहरु र विशेषगरि युवा पुस्ता सँधै यो भएन र त्यो भएन भनेर असन्तुष्टि मात्र पोखिरहेका हुन्छौं । असन्तुष्टि मात्र पोखेर केही हुँदो रहेनछ ।

मैंले पनि पहिलापहिला र गत ६४ सालको चुनावको समयमा धेरै असन्तुष्टि पोखें, तर के भयो त ? केहिपनि भएन । किनभने हामीले असुन्तुष्टि काँग्रेस, एमाले, माओवादी, राप्रपा वा तराइ केन्द्रित दल र तिनका नेतामाथि पोख्यौं, अन्तिममा तिनै दलका नेतालाई भोट दिएर जितायौं । अनि अहिले फेरी हामी ६४ सालको चुनाव अघि जस्तै नेताहरुले काम गरेरनन् भनेर असन्तुष्टि पोखिरहेका छौं । हामीले देखेको र भोगेको कुरा हो यो । के अब फेरि त्यहि गल्ति अब चुनावमा गर्ने हो त ?’ मतदाताले गरेका गल्ति औंल्याउँदै प्रश्नसँगै केही बेर डा. महत मौन देखिए ।

‘मलाई कहाली लाग्छ बालाजु-रानीपौवा, छहरे-टोखा सडकको अवस्था सम्झदा पनि । राजधानी काठमाडौंसँग जोडिएको नुवाकोट जाने सडक मात्र हेर्ने हो भने सुदुर पश्चिमका जिल्लाहरुको भन्दा गएगुज्रेको छ । सडक पिच र ढलान हुन्छ बल्ल तल्ल, तर केही महिनामै भत्कन्छ । कसरी त्यस्तो हुन्छ ? त्यहाँका नेता वा सांसदहरुको मिलेमतो नभइकन के त्यस्तो सम्भव हुन्छ ? सडक विस्तार गर्न ठेक्का हुन्छ ८-१० बर्षसम्म नबनाएर अलपत्र राखिन्छ । अनि हाम्रै क्षेत्रका सांसदहरु गाउँ गाउँ पुगेर ठूला भाषण गर्छन्, तै पनि नुवाकोटका सोझा जनता पत्याइदिन्छन् ! उनिहरु काठमाडौं बसेर तलब भत्ता खाएर सुखसयलको जीवन विताइरहेका छन् ।’

हरेक पटक नुवाकोटका नेताहरु मन्त्री बनेका छन् । काँग्रेस, एमाले, माओवादी, राप्रपा सबै दलका नेता सरकारमा पुगे । उहाँहरुले आफ्नो अवस्था त फेर्नुभयो तर जिल्लाको लागि छातिमा हात राखेर भन्नुपर्दा जुन रूपमा विकासले गति लिनु पर्ने हो त्यो हुन सकेन । यो भन्दा पिडा र जिल्लावासिको लागि गरिएको धोका अरु के हुन्छ र ? सडकको कुरा मात्र होइन, त्यो सँग जोडिएका कयौं अवसरका ढोकाहरू बन्द भएका छन् कयौं आयआर्जनका अवसरहरू त्यसबाट गुमेका छन्।’

‘अहिलेसम्म काँग्रेस, एमाले, माओवादी, राप्रपा यिनै दलका नेताहरु मात्र सांसद भएका छन् नुवाकोटबाट तर अहिलेसम्म देशको लागि र जिल्ला तथा निर्वाचन क्षेत्रका नागरिकका लागि सम्झन लायक उदाहरणीय काम यो भएको छ भनेर सम्झन सक्ने काम केही देखिएको छैन । अब यो सबै देखेर, बुझेर, थाहा पाउँदा-पाउँदै पनि केही पढेको, थोरै देश विदेशको अनुभव गरेको एउटा युवाको हैसियतले “म केही गरेर देखाउँछु गलत गरे मलाई दण्ड दिनुस्” भनेर अघि सरेर सच्चा मनले चुनावमा होमिनुको विकल्प देखिन । अब पुराना दल र नेतालाई गालि मात्र गरेर होइन परिवर्तनको लागि नुवाकोटका जनताले आफ्नो मन अनि मत पनि बदल्नुपर्छ । यस पटक, एक पटकको लागि राष्ट्रिय स्वतन्त्र पार्टिको चुनाव चिन्ह घण्टिमा मतदान गर्नुपर्छ ।’

‘म नेताहरुले अहिलेका पार्टिले देश विगारे भनेर गालि गर्न मात्र उम्मेदवार बनेको होइन, अब हामी मिलेर देश बनाउछौं, आफ्नो निर्वाचन क्षेत्रमा जनताले अनुभुत गर्नेगरि परिवर्तन र विकास गर्छौं भनेर आएको हुँ ।’

टेलिफोन मार्फत गरिएको छोटो कुराकानीका क्रममा डा. प्रद्युम्न महतले आफ्नो धरातल र जन्मथलो प्रतिको मायाँ र दृढताको पोको खोल्दै भावना मिश्रित भावमा भन्नुभयो ‘मेरो मातृभूमी र जन्मथलो मलाई यति प्यारो लाग्छ कि तपाईंलाई सामान्य लाग्न सक्छ, मं बाल्यकाल देखिनै काठमाडौं बसोबास गर्दै आइरहेको छु, परिवारका सबै जनाले काठमाडौंबाटै नागरिकता लिनुभयो, मैंले जन्मेको त्यो माटोको मायाँ र सम्वन्ध कहिल्यै टुटाउँदिन भनेर नागरिकता नुवाकोट जिल्लाबाटै लिएको छु । कविलास, म जन्मेको गाउँठाउँ भएकाले जन्मथलोमा केही सत्कर्म गर्नैपर्छ, गरेर देखाउँछु भन्ने अठोट लिएर नै अहिले नुवाकोट क्षेत्र नम्वर १ बाट प्रतनिधिसभा सदस्य उम्मेदवार बनेको हुँ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here