पाँच शर्तसहित खुल्यो प्याराग्लाइडिङ उडानमा लगाएको प्रतिबन्ध

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्याराग्लाइडिङ उडानमा लगाएको प्रतिबन्ध खुल्ला गरेको छ ।

प्राधिकरणले पाँच शर्तसहित प्याराग्लाइडिङ उडानमा लगाएको प्रतिबन्ध खुल्ला गरेको हो । गत आइतबार नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्याराग्लाइडिङतर्फ भाग लिएका खेलाडीको आकाशबाट खसेर मृत्यु भएपछी यो खेल बन्द गरिएको थियो ।

प्राधिकरणले बुधबार प्याराग्लाइडिङलाई सुरक्षित कसरी गर्न सकिन्छ भनेर अध्ययन गर्न प्राधिकरणका उपमहानिर्देशक हंशराज पाण्डेको संयोजकत्वमा ७ सदस्यी छानबिन समिति गठन गरेको थियो ।

समितिले शुक्रबार पाँच शर्त लागू गरेर प्याराग्लाइडिङ सेवा सुचारु गर्न सकिनेसहितको प्रतिवेदन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई बुझाएको हो ।

सोही प्रतिवेदनको आधारमा प्राधिकरणले सेवा सुचारु गर्न पाँच शर्त कार्यान्वयन गरेर उडान सुचारु गर्न मातहतका कार्यालयमा पत्राचार भएको प्राधिकरणले जनाएको छ ।

शर्त अनुसार प्याराग्लाइडिङ उडानलाई थप नियमित सुरक्षित तथा व्यवस्थित बनाउन प्राधिकरणले व्यावसायिक रूपमा उडान गर्न उपलब्ध गराएको उडान क्षेत्रभित्र व्यावसायिक उडानबाहेक अन्य उडान गतिविधि गराउन पाइने छैन ।

आगामी १५ दिनभित्र हवाई खेलकुद सङ्घ, नेपालबाट प्याराग्लाइडिङ उडानको लाइसेन्स लिएका सबै पाइलटले प्राधिकरणले तोकेको मेडिकल लेभल–२ र मनोवैज्ञानिक अवस्थाको समेत परीक्षण गर्नुपर्ने व्यवस्था गरिएको छ ।

त्यस्तै व्यावसायिक उडानमा संलग्न पाइलटहरूले प्राधिकरणको स्वीकृतिमा एकै किसिमको पोसाक लगाउनुपर्ने र उक्त पोसाकमा कम्पनी एवं पाइलटको नाम स्पष्ट देखिनु पर्नेछ ।

प्राधिकरणले व्यावसायिक उडानमा प्रयोग हुने ग्लाइडरहरूको १५ दिन भित्रमा प्राधिकरणका ‘एयर–वर्दिनेस इन्सपेक्टर’ को रोहवरमा परीक्षण गराई योग्य ग्लाइडरहरूलाई मात्र व्यावसायिक उडान अनुमति दिने भएको छ ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा क्रस कन्ट्री प्याराग्लाइडिङ खेल उडिरहेको प्याराग्लाडिङ अचानक खस्दा त्रिभुवन आर्मी क्लबका तर्फबाट भाग लिएका २६ वर्षीय निसिम थापाको मृत्यु भएको थियो ।

थापाले सराङकोटबाट उडान भरेका थिए । सय मिटर माथिबाट उनी जमिनमा खसेका थिए । जमिनमा खसेर घाइते भएका थापाको उपचारको क्रममा मेट्रोसिटी अस्पतालमा मृत्यु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here