टी–२० विश्वकप: अफगानिस्तान बाहिरियो, श्रीलंकाको आशा जीवितै

काठमाडौं । अफगानिस्तान टी-२० विश्वकपबाट बाहिरिएको छ ।

मंगलबार भएको समूह-१ को खेलमा श्रीलंकासँग ६ विकेटले पराजित हुँदै अफगानिस्तान जारी टी-२० विश्वकप क्रिकेटबाट बाहिरिएको हो ।

१४५ रनको विजयी लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको श्रीलंकाले १८.३ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य भेट्याएको हो ।

श्रीलंकाका लागि धनन्जय डे सिल्भाले ४२ बलमा ६ चौका र दुई छक्का प्रहार गर्दै अविजित ६६ रन बनाए । त्यस्तै, कुसल मेन्दिसले २५, चारिथ असालंकाले १९ र भानुका राजपाक्षेले १८ रन बनाए । बलिङतर्फ अफगानिस्तानका मुजिब उर रहमान र राशिद खानले समान २-२ विकेट लिए ।

त्यसअघि ब्रिसबेन क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४४ रन बनाएको थियो । उसका लागि रहमानुल्लाह गुर्बाजले सर्वाधिक २८ रनको योगदान दिए ।

उस्मान घानीले २७, इब्राहिम जाद्रनले २२, नजिवुल्लाह जाद्रनले १७, कप्तान मोहम्मद नबीले १३ तथा गुल्बदिन नइबीले १२ रन जोडे ।

श्रीलंकाका लागि वानिन्दु हसरंगाले तीन, लाहिरु कुमाराले दुई तथा कासुन रजिथा र धनन्नजय डि सिल्भाले एक/एक विकेट हात पार्दा १ विके रन आउटका रूपमा प्राप्त भयो ।

यो जितसँगै श्रीलंका समूह–१ को तेस्रो स्थानमा उक्लिएको छ । श्रीलंकाको चार खेलबाट चार अंक भएको छ । यो जितसँगै श्रीलंकाले सेमिफाइनल पुग्ने आफ्नो यात्रालाई कायमै राखेको छ ।

यता, अफगानिस्तान भने विश्वकप क्रिकेटबाट बाहिरिएको छ । चार खेल खेलिसकेको अफगानिस्तानको मात्र दुई अंक छ । अफगानिस्तानले अब आफ्नो अन्तिम खेल आयोजक अस्ट्रेलियासँग खेल्न बाँकी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here