प्रत्येक १० जनामध्ये १ जनामा मधुुमेह

काठमाडौं, २५ कात्तिक । ‘मधुमेह सेवामा पहुँच बढाऔं सुरक्षित भविष्यको लागि मधुमेहबारे जानौ’ भन्ने मुल भाव तथा नारा अनुरुप तिलगंगा आँखा प्रतिष्ठानले मधुमेहको आँखामा असर सम्बन्धी सचेतना सप्ताहका रुपमा विशेष कार्यक्रमका साथ मनाउँदैछ ।

कार्तिक २५ गते देखि मङ्गिसर १ गते सम्म आयोजना हुन लागेको सप्ताहमा मधुमेहको आँखामा असर सम्बन्धि जनचेतना फैलाउनको लागि अस्पतालको हाताभित्र जानकारीमूलक विभिन्न सामाग्रीहरु वितरण गरिदैछ । यसका साथै आमसंचारका विभिन्न माध्यम रेडियो, टेलिभिजन तथा सामाजिक संजालको माध्यमबाट सामाग्रीहरु प्रचार प्रसार गरिदैेछ ।

साथै २६ कार्तिक शनिबारका दिन साइकल र्यालीको आयोजना गरिएको छ । तिलगंगाबाट लैनचौर हुँदै स्वयम्भु र स्वयम्भुबाट टेकु, त्रिपुरेश्वर, नयाँ बानेश्वर हुँदै तिलगंगा आउने साइकल र्यालीको रुट रहेको छ । स्वयम्भु सामुदायिक आँखा केन्द्रमा सोही दिन मधुमेह भएका व्यक्तिहरुको निःशुल्क आँखा जाँच साथै निःशुल्क लेजर उपचार र फण्डुस फोटोको सेवा प्रदान गरिदैछ ।

त्यसैगरि मधुमेह दिवसका दिन २८ कार्तिकका दिन स्वास्थ्य शिक्षा कार्यक्रमको पनि आयोजना गरिएको बताइएको छ । जसमा आँखा पर्दा रोग विशेषज्ञ डा.रवा थापा, मधुमेह तथा इन्डोक्राइनोलोजिस्ट डा.दिपक मल्ल र डाइटिसियन रश्मि बजिमयले प्रस्तुती दिनुहुनेछ ।

अन्तराष्ट्रिय मधुमेह संघका अनुसार संसार भर ५३७ मिलियन मानिस मधुमेह बाट ग्रसित छन् । अन्धो पना, खुट्टा काट्नुपर्ने अवस्था, हृदय रोग, मृगौलाले काम नगर्ने अवस्था र असामायिक निधनको प्रमुख कारणको रुपमा मधुमेह देखिएको छ ।

हरेक तीन मध्य एकजना मधुमेहका बिरामीमा आफ्नो जिवनकालमा कुनै न कुनै प्रकारले दृष्टी मा क्षति ब्यहोर्नु पर्ने हुन्छ । प्रत्येक दुई मध्ये एक वयस्कमा मधुमेह रोगको निदान भएको छैन । संसारमा प्रत्येक १० जना मध्ये १ जनामा मधुुमेह देखिएको छ ।

गर्भावस्थामा रहँदा प्रत्येक ६ जनामध्ये १ जनामा मधुुमेह प्रभाव देखिन्छ । मधुुमेह भएका व्यक्तिलाई यसबाट हुने असरको व्यवस्थापन गर्न नियमित शिक्षाको पहँुच पुर्याउन जरुरी छ ।

आँखामा देखिने समस्याहरु मध्ये डायवेटिक रेटिनेपेथी दृष्टिविहिन गराउने कारणहरुमध्ये एक प्रमुख कारण हो । मधुमेहका व्यक्तिहरुमा अन्य व्यक्तिको तुलनामा दुई गुणा बढि हुन्छ भन अन्धोपनको समस्या पच्चिसौ गुणा बढि हुने गर्दछ ।

मधुमेह भएको २० वर्षमा पहिलो प्रकारको करिव सबै र दोश्रो प्रकारको मधुमेहमा करिव २ तिहाई विरामीको आखाँको पर्दा अर्थात रेटिनामा असर परिसकेको हुन्छ ।

मधुमेह भएका व्यक्तिमा आँखा धमिलो हुँदा सम्म रेटिनामा अपुरणिय क्षति भईसकेको हुन्छ । आँखामा धेरै असर गरिसकेपछि मात्र रोगको बारेमा थाहा हुन सक्छ जति वेला उपचार पश्चात पनि राम्रो दृष्टि फर्काउन गाह्रो हुन्छ ।

मधुमेहले आँखाको पर्दाको रक्तकोशिकाहरुमा असर गरि पर्दाको रक्तसंचारमा प्रभाव पार्दछ । जसले गर्दा पर्दाको दृष्टि केन्द्रमा सुजन तथा रक्तश्राव हुनगई दृष्टि कमजोर हुन जान्छ ।

संसारमा कुल अन्धोपना मध्ये ४ दशमलव ८ प्रतिशत अन्धोपना यहि डायवेटिक रेटिनोपेथीको कारणले हुने गरेको र आँखामा मधुमेहले पार्ने असर बारे जनचेतनाको अभावले गर्दा बिरामी निकै ढिला अस्पताल आउने गरेको पाईएको छ । यदि आँखाको पर्दामा असर छ भने उपचार पश्चात अवस्था अनुसार नेत्रविशेषज्ञले भने बमोजिम नियमित आँखा परिक्षण गराउनुपर्दछ ।

मधुमेहको आँखामा असर ‘डायवेटिक रेटिनोपेथी’ सम्बन्धि जनचेतना जगाउँनका लागि सन् २०१४ देखिनै विश्व मधुमेह दिवसका अवसरमा तिलगंगा आँखा प्रतिष्ठानले “डायवेटिक रेटिनोपेथी दिवस” मनाउदै आएको छ र विगत १६ वर्षदेखि साताव्यापी जनचेतना कार्यक्रम गर्दैै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here