काबेली कोरिडोर प्रशारण लाइन निर्माण सकियो, परीक्षण शुरु

फिदिम, १४ साउन । काबेली कोरिडोर १३२ केभी विद्युत् प्रशारण लाइन आयोजनाको निर्माण कार्य पूरा भएको छ ।

एक दशक अघिबाट निर्माण शुरु भएको सो आयोजना दुई दिनअघि सम्पन्न भएको आयोजना प्रमुख दीपेन्द्रराज द्विवेदीले जानकारी दिए । आइतबार आयोजनाको तेश्रो तथा अन्तिम खण्ड निर्माणको सम्पूर्ण कार्य पूरा भएको हो ।

तेश्रो खण्डको निर्माण पूरा भएसँगै प्रसारण लाइन परीक्षणको तयारी शुरु भएको छ । अन्तिम खण्डको प्रसारण लाइनमा यही साउन १७ गतेबाट परीक्षण प्रसारण हुनेछ । करीब एक हप्ता विद्युत् परीक्षण गरी उक्त खण्ड चार्ज गरिनेछ ।

करीब १३ किलोमिटर लामो यो खण्ड पाँचथरको फिदिम नगरपालिका–४ थापाटार सबस्टेशनदेखि पाँचथरकै हिलिहाङ गाँउपालिका–१ दुवीचौर सबस्टेशनसम्म रहेको छ ।
आयोजना कार्यालयले साउन १७ गते बिहान ८ बजेदेखि कोरिडोरको हाइटेन्सन लाइनको मुनि तथा टावरको वरीपरी नबस्न, प्रभावित हुने भनी जानकारी गराइएको आसपासको क्षेत्रमा कुनै पनि सामग्री नराख्न स्थानीयवासीलाई आग्रह गरेको छ ।

पाँचथरका साविकका फिदिम, भारपा, सुभाङ, र अमरपुर गाविस तथा तेह्रथुमको छातेढुङ्गा गाविसमा रहेका १ नम्बरदेखि ४० नम्बरसम्मका टावरहरुमा विद्युत् प्रवाह हुनसक्ने भएकाले टावरको नजिक नजान कार्यालयले सचेत गराएको हो ।

कोरिडोरको आर्थिक वर्ष २०६६/६७ मा निर्माण प्रक्रिया शुरु भई आर्थिक वर्ष २०७१/७२ मा निर्माण कार्य प्रारम्भ भएको थियो । पूर्वी पहाडमा निर्माण गरिएका जलविद्युत् आयोजनालाई राष्ट्रिय प्रसारण लाइनमा जोड्ने कोरिडोरको निर्माण कार्य चार वर्षअघि सकिनुपर्ने थियो । भारतीय निर्माण कम्पनी ज्यागुआर ओभरसिज एण्ड स्टार जेभीले रु १ अर्ब ३० करोडमा आयोजना निर्माणको ठेक्का लिएको थियो ।

तर, मुआब्जामा चित्त नबुझाएका स्थानीय प्रभावितको अवरोध, सामुदायिक वन तथा सरकारी वनका रुख कटानीमा रहेको समस्या, निर्माण कम्पनीको ढिलासुस्तीका कारण आयोजना लम्बिन पुगेको आयोजा प्रमुख द्विवेदीको भनाइ छ । चौथो पटक थप भएको म्याद गत वर्षको माघ २६ मा सकिएको थियो । त्यसपछि पुनः म्याद थप गरी आयोजना सम्पन्न गरिएको हो ।

चार सबस्टेशन, २६१ टावर

काबेली कोरिडोर झापाको लखनुपरदेखि पाँचथरको अमरपुरसम्म फैलिएको छ । ९१ किलोमिटर लामो कोरिडोरका चार वटा सबस्टेशन छन् । झापाको लखनपुर, इलामको गोदक, पाँचथरको फिदिम–४ थापाटार र हिलिहाङ–१ अमरपुरमा कोरिडोरको सबस्टेशनहरु रहेका छन् ।

सबस्टेशन निर्माणको कार्य तीन वर्ष अघि नै सम्पन्न भइसकेको थियो । कोरिडोरलाई लखनपुर–गोदक, गोदक–थापाटार र थापाटार–अमरपुर गरी तीन खण्डमा विभाजन गरी निर्माण कार्य अघि बढाइएको थियो ।

आयोजनाको प्रसारण लाइनमा २६१ वटा सबल सर्किट हाइटेन्सन टावरहरु रहेका छन् । यी टावरहरुको उचाइ ४५ मिटर रहेको छ । लखनुपरदेखि गोदकसम्मको प्रसारण लाइन तीन वर्षअघिबाटै सञ्चालनमा छ ।

आयोजनाको दोश्रो खण्ड गोदक–फिदिम गत चैतको अन्तिम साताबाट सञ्चालनमा आएको थियो । १३ किलोमिटर लामो अन्तिम खण्ड थापाटार–अमरपुरको भने गत आइतबार निर्माण कार्य पूरा भएको द्ववेदीले बताए । यस खण्डमा ४० वटा टावर रहेका छन् ।

कार्यकारी निर्देशकबाटै अवरोध हटाउन पहल

सामुदायिक वनका रुख कटानीमा समस्या झेल्नुपरेकाले निर्माण कार्यमा निरन्तर अवरोध सिर्जना हुने गरेको थियो भने मुआब्जामा चित्त नबुझाएका स्थानीयले टावर गाड्न अवरोध गर्ने गरेका थिए ।

पाँचथरको फिदिम नगरपालिका–४ जोरसाल क्षेत्र र इलामको सिद्धिथुम्का बजार क्षेत्रमा कोरिडोर निर्माण कार्यमा लामो समय अवरोध सिर्जना भएपछि समस्या समाधानका लागि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ स्वयम् उपस्थित भई सहजीकरण गरेका थिए । अवरोध नहटेपछि फिदिमको जोरसालमा कोरिडोरको रुट नै परिवर्तन गरिएको छ ।

पाँचथर र ताप्लेजुङका आयोजना जोडिने

काबेली कोरिडोर १३२ केभी विद्युत् प्रसारण लाइनको दोश्रो खण्डसम्ममा इलाम र पाँचथरका आधा दर्जन जलविद्युत् आयोजना जोडिइसकेका छन् । तेश्रो खण्ड निर्माण पूरा भएसँगै निर्माण सम्पन्न हुन लागेका २५ मेगावाटको काबेली ‘बी–१’ जलविद्युत् आयोजना, २२ मेगावाटको तल्लो हेंवा जलविद्युत् १० मेगावाटको इवाखोला जलविद्युत आयोजना र पाँच मेगावाटको फावाखोला जलविद्युत् आयोजना तेश्रो खण्डमा जोडिने छन् । दोश्रो खण्ड पूरा भएसँगै १४ मेगावाटको हेंवा ‘ए’ जलविद्युत् आयोजना कोरिडोरमा जोडिएको थियो । (रासस)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here