राजनीतिक दललाई १३८ जुटाउन सकस, सरकार बनाउने खेलमा स्वार्थ अनुकुल ‘बार्गेनिङ’ !

फाइलफाटो

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको नतिजा सार्वजनिक भएको एक साता हुन लाग्दा पनि सरकार गठनका लागि नेताहरू अलमलमा रहेका छन् ।

गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुनै पनि राजनीतिक दलले बहुमत ल्याउन सकेनन् ।

संसदमा प्रतिनिधित्व गर्ने विभिन्न दलसँग मिलेर नयाँ सरकार बन्नुपर्ने जनादेश छ । जसका लागि दलहरुले आ–आफ्नो स्वार्थ अनुकुल ‘बार्गेनिङ’ गर्ने देखिन्छ ।

सरकार गठनका लागि संसदका ठूला दल नेपाली कांग्रेस र एमालेले पहल गरिरहेका छन् । तर, कुन दलले बहुमत पुर्याएर सरकार गठन गर्ने भन्ने स्पष्ट भइसकेको छैन्

जसकारण गठबन्धन सरकार बन्ने निश्चित छ । प्रचलित संविधानको धारा ७६(२)अनुसार सरकार गठन हुने भएको छ । तर, हालसम्म कुनै पनि दलले सरकार गठनका लागि आवश्यक पर्ने साधारण बहुमत १३८ सांसदको समर्थन जुटाउन सकेका छैनन् ।

सत्तारुढ गठबन्धनभित्र सरकार गठनका विषयमा एक मत छैन । गठबन्धनको नेतृत्व गरेको कांग्रेसभित्रै नयाँ सरकारको नेतृत्व लिन विषयमा पनि एकमत छैन । माओवादी नयाँ सरकार गठनमा पर्ख र हेरको अवस्थामा छ ।

सरकारको नेतृत्व गर्न जुन दलले दिन्छ, उसैलाई समर्थन गरेर आलोपालो सरकार गठनमा जाने माओवादी केन्द्रको तयारी छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्ने ताकमा छन् । त्यसका लागि उनले आफ्नाे इच्छा जाहेर गरिसकेका छन् ।

एकीकृत समाजवादी पनि कांग्रेस, माओवादी केन्द्रसहित गठबन्धन आवद्ध दलको निर्णय पर्खेको छ भने केही आफ्ना राजनीतिक स्वार्थ पूरा गर्नेलाई समर्थन गर्न तयारीमा छ ।

८९ सिट जितेको कांग्रेसले सुरुमा सरकारको नेतृत्व गर्न चाहेको छ । उसले सरकार गठनका लागि गठबन्धन आवद्ध दलकै समर्थन जुटाउन सकिरहेको छैन ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवासहित कांग्रेसमा प्रधानमन्त्रीमा अरु पनि आकांक्षी देखिएका छन् । संसदीय दल गठन र नेता चयनपछि सरकार गठनका लागि गति दिने तयारीमा कांग्रेस देखिन्छ । बहुमत नभएकाले अरु दलकाे सहारामा सरकार गठन गर्नुपर्ने भएकाले पनि नेताहरूले त्यति सक्रियता नदेखाएका हुन् ।

कांग्रेसमा संसदीय दलकाे नेता जाे बन्छ उसैले प्रधानमन्त्रीमा दाबी गर्ने हाे । अहिलेकाे अवस्थामा देउवा पुरानै संसदीय दलकाे नेता हुन् । दलकाे नेताका लागि महामन्त्री गगन थापाले पनि तयारी गरेकाले काे बन्छ भन्ने ग्यारेन्टी छैन ।

माओवादी केन्द्र आफ्नो माग र स्वार्थ पूरा गर्नेलाई समर्थन गर्नेगरी दलीय छलफलमा छ । उसले आफू अनुकूलकाे सरकार गठनका लागि विकल्प अघि सारेकाे छ ।

त्यसैले अहिलेकै गठबन्धनकाे सरकार बन्छ भनेर भन्न सकिने अवस्थासमेत छैन । २० सिट रहेकाे राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार गठनबारे केही नबाेलेकाले पनि नेताहरू सरकार गठनमा उदासीन बनेका हुन् ।

संसदको पहिलो दल कांग्रेसले सरकार गठनका लागि समर्थन जुटाउन नसकिरहेका बेला ७८ सिटसहित दोस्रो दल बनेको एमालेले पनि सरकार गठनका लागि आवश्यक समर्थन जुटाउन सकेको छैन । सत्तारुढ गठबन्धनको निर्णय र अवस्थालाई हेरेर एमालेले सरकार गठनका विषयमा निर्णय लिने तयारीमा छ ।

आवश्यक परेको खण्डमा सरकारको नेतृत्व लिन आफ्नो पार्टी तयार रहेको एमाले अध्यक्ष केपी ओलीले सार्वजनिक रूपमै बोलिसकेका छन् ।

तर, उनले पनि सरकार गठनका लागि आवश्यक पर्ने १३८ सांसदको समर्थन जुटाउन भने सकेका छैनन् । ७८ सिट रहेको एमालेलाई सरकार गठनका लागि थप ६० सांसदको समर्थन आवश्यक पर्छ । जुन जुटाउन ओलीलाई निकै कठिन छ ।

नयाँ जनादेश अनुसार मिलिजुली सरकार बनाउन एक भन्दा बढि दलको समर्थन आवश्यक हुने हुँदा प्रधानमन्त्री आलोपालो गर्ने,राष्ट्रपति-उपराष्ट्रपति कसले पाउने ?,सभामुख र उपसभामुख कसले लिने ? तथा संगै संसदीय सभापति र प्रदेशमा मुख्यमन्त्री लगायत भागबण्डामा समेत ठूलो ‘बार्गेनिङ’ चल्ने देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here