कुख्यात ‘किलर’ चार्ल्स शोभराज रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौं । बिकिनी किलरको नामबाट परिचित कुख्यात अपराधी चार्ल्स शोभराज कैदमुक्त गर्न सर्वोच्च अदालतले आदेश जारी गरेको छ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले कैद मुक्तगर्न र पन्ध्र दिन भित्र आफ्नै देश फर्काउने व्यवस्था मिलाउन आदेश जारी गरेको हो।

फ्रान्सेली नागरिक शोभराज नेपालमा पक्राउ परेका थिए। कर्तव्य ज्यानको मुद्दामा उनलाई जिल्ला अदालत भक्तपुरले सर्वश्वसहित जन्मकैदको सजाय सुनाएको थियो।

काठमाडौं जिल्ला अदालतमा चलेको उनको मुद्दा सर्वोच्च अदालतसम्म पुगेको थियो।

जिल्ला अदालतले उनलाई गरेको जन्मकैदको फैसला सर्वोच्च अदालतले सदर गरेको थियो। सन् २००३ देखि उनले केन्द्रीय कारागार सुन्धारामा कैद सजाय काटिरहेका छन्।

शोभराजको उमेर ७५ वर्ष भइसकेको तथा उनी मुटुसम्बन्धी रोगबाट पीडित भइ उपचारको अवस्थामा रहेको तथा तोकिएको कैदमध्ये ७५ प्रतिशत (१९ वर्ष) कैद सजाय भोगिसकेको देखिएको सर्वोच्चको आदेशमा उल्लेख छ।

‘…अन्य मुद्दामा थुनामा राख्नु नपर्ने भए निजलाई आजै कैदबाट छाडीदिन तथा यो आदेश भएको १५ दिनभित्र देश फर्काउन यो आदेश जारी गरिएको छ,’ सर्वोच्चको आदेशमा भनिएको छ, ‘सम्बन्धित जिल्ला अदालतमार्फत् कारागार कार्यालय जगन्नाथ देवल काठमाडौंमा छिटो साधनद्वारा आदेशको जानकारी पठाइदिनु।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here