शीतल निवास पुगेर प्रचण्डले पेश गरे १६७ सांसदको समर्थनसहित प्रधानमन्त्रीको दाबी (फोटोफिचर)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल १६७ सांसदको समर्थनसहित मुलुकको ४४ औं प्रधानमन्त्री बन्ने दाबी पेश गरेका छन् ।

सत्ता गठबन्धनमा कांग्रेस सभापति शेरबहादुर देउवासँग कुरा नमिलेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बार्ता गरेका प्रचण्ड ७ दल र १६७ सांसदसहित दाबी पेश गरेका हुन् ।
दाबी पेश गर्न नेकपा माओवादीसहित नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टीका नेताहरु शितल निवास पुगेका छन् ।

यस्तै स्वतन्त्र उम्मेदवार भएर चुनाव जितेका कांग्रेसका पूर्व नेता अमरेशकुमार सिंह, पूर्व एमाले नेता प्रभु साह पनि शितल निवास पुगेका छन् ।

गत चुनावमा कुनै एक दलको बहुमत नआएकाले राष्ट्रपति विद्यादेवी भण्डारीले आज बेलुकी ५ बजेसम्ममा सरकार गठनका लागि दाबी पेश गर्न दलहरुलाई आह्वान गरेकी थिइन् ।

बालकोटस्थित एमाले अध्यक्ष ओली निवासमा आइतबार दिउँसो बसेको ७ दलको बैठकले प्रधानमन्त्रीमा प्रचण्डलाई अघि सार्ने निर्णय गरेको थियो ।

प्रचण्डलाई नेकपा एमालेको ७८, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राष्ट्रिय प्रजातन्त्र पार्टीका १४, जनता समाजवादी पार्टीका १२, जनमत पार्टीका ६, नागरिक उन्मुक्ति पार्टीका ४ र अमरेशकुमार सिंहसहित १६७ सांसदले समर्थन गरेका छन्।

सात दलबीच भएको सहमति अनुसार एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आधा आधा कार्यकाल प्रधानमन्त्री हुने भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here