काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस

काठमाडौं । उपत्यकासहित देशका धेरै ठाउँको न्यूनतम तापक्रम निरन्तर जस्तै घट्दै गएको छ ।

मौसमविद्का अनुसार न्यूनतम तापक्रम घट्नु स्वभाविक नै भए पनि उपत्यकामा अघिल्ला वर्षको तुलनामा छिट्टै जाडो बढेको हो ।

मौसम पूर्वानुमान महाशाखाको तथ्यांक अनुसार काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस देखिएको छ।

महाशाखाले तापक्रम क्रमिक रूपमा घट्दै गएको भन्दै आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गरेको छ। 

बिहान गण्डकी प्रदेश र बागमती प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहेको छ। बाँकी भू–भागमा मौसम आंशिक बदली रहे पनि सामान्यतया सफा छ। 

जल तथा मौसम विभागका अनुसार हिमाली भू–भागका एक वा दुई स्थानमा आज हल्का हिमपातको सम्भावना छ। प्रदेश १ र गण्डकी प्रदेशको हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको हो।

राति पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र गण्डकी प्रदेशको हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद वरुण पौडेलले जानकारी दिए। उनका अनुसार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहनेछ।