सरकारी सेवामा लाइन बस्नुपर्ने अवस्था हटाउने मन्त्रिपरिषद् बैठकको निर्णय

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्व सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सरकारी सेवामा लाइन बस्नुपर्ने अवस्था हटाउने निर्णय गरेको छ ।

प्रधानमन्त्रीको सिंहदरवारस्थित कार्यालयमा बसेको बैठकले उक्त निर्णय गरेको हो । त्यस्तै नवनियुक्त उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई सरकारको प्रवक्तामा नियुक्त गरेको छ ।

बैठकले अर्थतन्त्रमा सुधार, जनताका समस्या प्रभावकारी रुपमा सम्बोधन गर्नेलगायतका निर्णय गरेको बैठकपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जानकारी दिए।

मन्त्रिपरिषद्को पहिलो बैठकका निर्णयबारे जानकारी दिँदै उनले भने, ‘नेपालको अर्थतन्त्रको स्थिति जसरी जटिल र चुनौतीपूर्ण दिशातिर छ, त्यसलाई सुधार्ने। प्रभावकारी उपायमा केन्द्रीय भएर अगाडि बढ्ने कुरा, सुशासनतिर गम्भीर ढंगले बढ्ने कुरा र जनताले ठाउँठाउँमा पाइराखेका सास्ती र दुःखलाई कम गराउनेबारे, जस्तोः राहदानीसम्बन्धी वा लाइसेन्ससम्बन्धी विषयमा लामा–लामा लाइन र पीडा जुन देखिएको छ, त्यो विषयमा केन्द्रित भएर हामीले समयभित्रै यसलाई प्रभावकारी ढंगले जनतालाई सेवा दिने किसिममा हामी केन्द्रीत भएका छौँ।’

बैठकमा प्रधानमन्त्री प्रचण्डसहित उपप्रधानमन्त्रीहरू विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ, रवि लामिछाने र मन्त्रीहरू ज्वाला कुमारी साह, दामोदर भण्डारी, राजेन्द्र कुमार राई र अब्दुल खान सहभागी भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here