सामाजिक सुरक्षा कोषमा १७ हजार ५३५ रोजगारदाता सूचीकृत, २ अर्ब ९० करोड दाबी भुक्तानी

काठमाडौं, १३ पुस । सामाजिक सुरक्षा कोषमा १७ हजार ५३५ रोजगारदाता सूचीकृत प्रकृयामा सामेल भएका छन्।

सामाजिक सुरक्षा कोषको तथ्यांक अनुसार ३ लाख ८० हजार ९८२ श्रमिक कोषमा आबद्ध भएका छन् ।

सामाजिक सुरक्षा कोषले हालसम्म योगदानकर्तालाई दाबी बापत २ अर्ब ९० करोड भुक्तानी गरेको छ ।

विभिन्न चार योजनाअन्तर्गत ७९ हजार ८९ योगदानकर्तालाई २ अर्ब ९० करोड ६६ लाख रुपैया दाबी भुक्तानी गरिएको कोषले जनाएको छ । यो तथ्यांक २०७९ पुस ३ गतेसम्मको हो ।

कोषले सबैभन्दा धेरै औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनाको दाबी भुक्तानी गरेको छ । ३७ हजार ९८१ लाभग्राहीलाई उक्त योजनाअन्तर्गत ३३ करोड ५२ लाख ६४ हजार ७१४ रुपैयाँ भुक्तानी भएको छ ।

दुर्घटना तथा अशक्तता सुरक्षा योजनाबाट १४१३ लाभग्राहीलाई ३ करोड ७४ लाख ७५ हजार ९८७ रुपैयाँ, आश्रित परिवार सुरक्षा योजनाबाट ५४१ लाभग्राहीलाई ५ करोड १० लाख ९६ हजार ५१९ रुपैयाँ भुक्तानी लिएका छन् ।

त्यस्तै वृद्धावस्था सुरक्षा योजनाबाट ३४ हजार ४४५ लाभग्राहीलाई २ अर्ब ४८ करोड २७ लाख ८५ हजार ८० रुपैयाँ भुक्तानी दिइएको कोषले जनाएको छ ।

यही अवधिसम्ममा कोषमा २७अर्ब योगदान संकलन भएको छ । कोषमा मासिक रुपमा आधारभूत पारिश्रमिकको २० प्रतिशत रोजगारदाता र ११ प्रतिशत श्रमिकका तर्फबाट ३१ प्रतिशत जम्मा हुँदै आएको छ ।

कोषमा मासिक रुपमा आधारभूत पारिश्रमिकको २० प्रतिशत रोजगारदाता र ११ प्रतिशत श्रमिकका तर्फबाट ३१ प्रतिशत जम्मा हुँदै आएको छ ।

कोषले ल्याएका विभिन्न योजनाप्रति योगदानकर्ताको आकर्षण बढाउन केही योजनाको परिमार्जन गरिएको छ । नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोषजस्ता निकायले बचतकर्तालाई दिएका सुविधा सामाजिक सुरक्षा कोषले पनि कार्यान्वयनमा ल्याएको छ ।

सूचीकृत योगदानकर्ताले कोषबाट विशेष सापटी, शैक्षिक कर्जा, आवाश कर्जालगायत सुविधा पाउनेछन् ।

सरकारले २०७४ मङ्सिर ११ गते सामाजिक सुरक्षा योजनाको शुभारम्भ गरेको थियो । उक्त योजना २०७६ साउनदेखि कार्यान्वयनमा आएको छ । कोषले सबै क्षेत्रका श्रमिकलाई आबद्ध गराउन सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७५ दुई पटक संशोधन गरेर योगदानकर्तामैत्री बनाउँदै लगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here