ज्यान जोगाउन १२औँ तलाबाट हाम फाल्न तयार निराकारले जब मृत्यु देखे, छोरालाई भने-‘बाबा अलवेज लभ्स यू’!

काठमाडौं । कम्बोडियाको एक क्यासिनो भवनमा आगलागी हुँदा झापाका निराकार पाण्डेको मृत्यु भएको छ। बिर्तामोड नगरपालिका वार्ड नं १ का वडाध्यक्ष अग्निप्रसाद पाण्डेका माइला छोरा निराकारको मृत्यु भएको हो ।

व्यावसायिक कामका सिलसिलामा कम्बोडिया पुगेका निराकर बसेका क्यासिनो भवनमा आगलागी हुन थाल्यो तब उनले मृत्यु आँखाअघि देखे ।

उनले घरमा भाइबरमा भिडियो कल गरे र परिवारका सदस्यहरूलाई घटनाबारे सुनाए ।

निराकार कम्बोडियाको थाइल्यान्डसँगको सीमावर्ती सहर पोइपेतस्थित ग्रान्ड डायमन्ड सिटी क्यासिनो एन्ड होटलमा बसेका थिए। १७ तले उक्त भवनमा उनी १२औँ तलामा थिए।

बिहीबार राति उक्त आगलागी भएको थियो। भवनमा आगलागीको कारण एकीन नभए पनि विद्युत् शर्ट भई आगो लागेको हुनसक्ने एजेन्सीहरुले जनाएका छन्।

आगलागी भइसकेपछि आफ्नो अन्तिम समय नै आएको ठानेर उनले घरपरिवारलाई भिडियो कल गरेका थिए। भिडियोमा उनले छोरालाई भनेका छन्, ‘म तिमीलाई धेरै माया गर्छु। बाबा अलवेज लभ्स यू!

एउटा बाबुले गर्नुपर्ने कर्तव्य गरेर यो संसारबाट बिदा भएका छन् । सानो छोरालाई ‘ठूलो मान्छे बन्नुपर्छ’ भन्दै सम्झाउने प्रयास उनले गरेका छन्।

उनले भनेका छन्, ‘सबै भन्दा ठूला कुरा राम्रो मान्छे बन्नुपर्छ है । कसैलाई चिट गर्नु हुँदैन । फ्रड गर्नु हुँदैन । आफूले सकेको सहयोग गर्नुपर्छ है छोरा ।’

उनले आफ्ना परिवारका सदस्यलगायत आफ्ना ससुरालीपट्टिका सबैलाई सम्झेका छन् । सबैलाई माया गर्न छोरालाई सम्झाएका छन् ।

‘मामाहरू, माइजुहरूलाई चित्त नदुखाइदिनु तिमीले । धेरै गर्नु भएको छ मामा-माइजुले । लमजुङ बुवा आमाले धेरै गर्नु भएको छ । तिमी ठूलो मान्छे बन्नु, ज्ञानी बन्नु ।’ उनले छोरालाई सम्झाउँदै भनेका छन् ।

भोलिका दिनमा तिमीले उसैलाई सहयोग गर्छ है बाबु। राम्रो मान्छे बन्नू। कसैलाई चिट गर्नुहुन्न छोरा। मैले जे जति दुःख गरेँ, हुन्छ कि भनेर कोसिस गरेँ छोरा। मैले सकिनँ।

तिमीसँग बिताएका पलहरू सधैं यादगार रहनेछन्। सधैं शशी मामु, अग्नि बुबा आमासँग भान्जाहरूसँग तिम्रो मामा यानिकी मेरो साढु है, मेरो जेठान शान्ति शाली गोथ्ले, तिम्रो भाइ, आर्या दिदी, सार्थक भाइ, आरभ भाइ सबैलाई माया र इज्जत गर्नू, ज्ञानी बस्नू।

भिडियोमा उनले परिस्थिति आफ्नो बसमा नरहेको पनि संकेत गरेका छन् । निराकारले भनेका छन्, ‘मैले जे जति गरें तिम्रा लागि गरें । धेरै कोशिस गरें तर सकिन । तिमीसँग बिताएका पलहरू धेरै यादगार रहनेछन् ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here