बीओकेसँगको मर्जरपछि ग्लोबल आईएमई बन्यो नेपालकै ठूलो बैंक, पूँजी ५७ अर्ब

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेड (बीओके)ले एकीकृत काराेबार सुरू गरेका छन् । मर्जरपछि साेमबार एक कार्यक्रम आयाेजना गरेर ग्लाेबल आइएमई बैंककाे नामबाट एकीकृत काराेबार सुरू गरेका हुन ।

गत असारमा मर्जर सम्झौता गरेका बैंकले चार महिनापछि एकीकृत काराेबार सुरू गरेका छन् । दुवै बैंकबीच १:१काे सेयर अनुपातमा मर्जरमा जाने सहमति भएकाे थियाे । साेही अनुसार मर्जर गरेर एकीकृत काराेबार गरेका गरेका हुन् ।

नयाँ बैंकको सञ्चालक समितिमा ग्लोबल आईएमई बैंकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालसहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना छन् । त्यसैगरी प्रमुख कार्यकारी अधिकृतको रूपमा ग्लोबल आइएमई बैङ्कका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य छन् ।

एकीकृत कारोबार उद्घाटन समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्थतन्त्रका समस्या हल गर्न तत्काल नतिजामुखी काम गर्न जरुरी रहेको बताए ।

पहिलो मन्त्रिपरिषदको बैठकबाटै अर्थतन्त्रलाई गतिशील बनाउन वित्तीय, औद्योगिक र मौद्रिक नीतिको सन्तुलित कार्यान्वयन गर्नेलगायतका निर्णय गरिएको उल्लेख गरे ।

नयाँ बैंकको कुल पूँजी कोष ५७ अर्ब, चुक्ता पूँजी ३५.७७ अर्ब, कुल निक्षेप ४१० अर्ब, कुल कर्जा ३७९ अर्ब भन्दा बढी पुगेकाे छ ।

दुई बैंकहरुको एकीकृत काराेबारपछि कुल ३९६ शाखा कार्यालय, ३६८ एटीएम, २७५ शाखा रहित बैंकिङ सेवा, ६१ विस्तारित शाखा कार्यालयहरु, ३ वटा विदेश स्थित सम्पर्क कार्यालयहरु, ४० लाख भन्दा बढी ग्राहकहरु रहेका छन् ।

कुल पूँजी, चुक्ता पूँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबै भन्दा ठूलो बैंक ग्लाेबल आइएमई बैंक बनेकाे अध्यक्ष चन्द्र ढकालले बताए ।

नेपालकाे वित्तीय प्रणालीकाे कुल हिस्साकाे १० प्रतिशत ग्लाेबल आइएमई बैंकले ओगटेकाे उनले बताए । अध्यक्ष ढकालले भने, ‘नेपाली बैंकिङ क्षेत्रका लागि ऐतिहासिक दिन हाे । मर्जर सम्झौता भएपछि ग्लाेबल आइएमई बैंक पहिलाे बनेकाे छ ।´ २१ वटा बैंक तथा वित्तीय संस्था गाभेर एकीकृत रूपमा ग्लाेबल आइएमई बैंक बनेकाे हाे ।

राष्ट्र बैंक र सरकारकाे नीति कार्यान्वयन गर्ने पहिलाे ग्लाेबल आइएमई भएकाे ढकालले बताए । बLओकेका अध्यक्ष प्रकाश श्रेष्ठले मुलुककाे वित्तीय प्रणाली सुदृढ बनाउन दुई बैंक एक भएकाे बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here