पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव: तराईमा शीतलहर, पहाडमा आंशिकदेखि सामान्य बद्ली

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाको अनुसार पहाडी भूभागमा आंशिक छ भने तराईमा हुस्सु/कुहिरो लागेको छ।

तराईमा गएको २४ गतेदेखि मौसममा सुधार आए पनि हिजोदेखि फेरि बाक्लो हुस्सु कुहिरोले ढाकेको मौसमविद्हरुले जनाएका छन् ।

तर, पश्चिमी न्यून चापीय प्रणाली सक्रिय नबन्दा फेरि शीतलहर चलेको छ । शीतलहरका कारण जनजीवन प्रभावित हुन सक्ने भन्दै सचेत रहन तराई मधेसका बासिन्दालाई मौसमविद्को आग्रह छ ।

शीतलहर चलेका बेला बिहान, दिउँसो र रातिको तापक्रम उस्तैउस्तै हुने भएकाले कठ्याङ्ग्रिँदो चिसो हुन्छ । अरु समयमा तापक्रममा उतारचढाव आउने गरे पनि शीतलहर चलेको बेला खासै उतारचढाव नआउने भएकाले जाडो धेरै हुन्छ ।

यस्तो बेला तातो न्यानो खानेकुरा खाने, न्यानो र बाक्ला कपडा लगाउने, आगो तथा हिटर ताप्ने गरे शरीरलाई न्यानो राख्न सकिन्छ । सावधानी नअपनाए मानवीय क्षति हुने जोेखिम धेरै हुन्छ । चिसोबाट जोगिन हिटर, कोइला तथा आगो ताप्दा सुरक्षित भने हुनुपर्छ ।

दिउँसो सुदूरपश्चिम, कर्णाली र गण्डकीमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको जनाएको छ । सुदूरपश्चिम र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको आकलन गरिएको छ । 

राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

बिहीबार सुदूरपश्चिम, कर्णाली र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको आकलन गरिएको छ भने सुदूरपश्चिम, कर्णाली र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान र बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here