नेपाल टी-२० लिगको लुम्बिनी अल स्टार्सलाई, विराटनगर २४ रनले पराजित

काठमाडौं । नेपाल टी–२० क्रिकेट लिगको उपाधि लुम्बिनी अल स्टार्सले जितेको छ । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार भएको फाइनल खेलमा विराटनगर सुपर किङ्सलाई २४ रनले हराउँदै लुम्बिनी च्याम्पियन बनेको हो।

लुम्बिनीले दिएको १३४ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगर आठ विकेटको क्षतिमा १०९ रनमै समेटियो। विराटनगरका लागि अर्जुन साउँदले ३४, पृथु बास्कोटाले ३१ र हुसैन तलतले १३ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।

लुम्बिनीका हरमीत सिंह र सागर ढकालले दुई/दुई विकेट लिए । जितसँगै लुम्बिनीले ५५ लाख पुरस्कार पाउने छ। त्यस्तै, उपविजेता बनेको विराटनगरले ३० लाख प्राप्त गर्दा तेस्रो हुनेले १० र चौथो हुने टिमले ५ लाख प्राप्त गर्ने छन्।

त्यस्तै, प्रतियोगितामा प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन्। इमर्जिङ प्लेयरले १ लाख ८० हजार प्राप्त गर्ने छन्।