सौराहा क्षेत्रमा पाटेबाघ र गैँडा मृतावस्थामा भेटिए

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जको अमलटारी र सौराहा क्षेत्रमा पाटेबाघ र गैँडा मृतावस्थामा भेटिएका छन् ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार बुधबार दिउँसो निकुञ्जको अमलटारी क्षेत्रअन्तर्गत चम्पा सालघारी क्षेत्रस्थित नारायणी नदीको बगरमा भाले पाटेबाघ मृत फेलापरेको छ ।

अन्दाजी १५ वर्षको बाघ प्राकृतिक कारणले मरेको उनले जानकारी दिए । यस आर्थिक वर्षमा बाघ मरेको यो पहिलो हो ।

बुधबार नै निकुञ्जको सौराहा क्षेत्रअन्तर्गत कछुवानी पोस्टको कार्यक्षेत्रमा पर्ने निकुञ्जमा लिंग पहिचान हुन नसकेको गैँडा मृत फेलापरेको छ ।

अन्दाजी पाँच वर्षको गैँडा मृत फेलापरेको तिवारीले जानकारी दिए । बाघको आक्रमणबाट गैँडा मरेको उनले बताए । गैँडाको खाग र खुर सुरक्षित रहेको छ ।

योसँगै चालु आवमा प्राकृतिक कारणबाट आठ गैँडा मरेका छन् । यो वर्ष चोरीसिकारीबाट गैँडा मरेको छैन । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here