सन्दीप लामिछानेलाई २० लाख धरौटीमा छाड्न अदालतको आदेश

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले बलात्कार अभियोग लागेका लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

आदेशमा सन्दीपले पीडितसँग सम्पर्क नगर्न आदेश दिएको छ। यदि उनले पीडितसँग सम्पर्क गरेको पुष्टि भएमा पुनः थुनामा पठाइने छ।

योसँगै उनको राहदानी पनि निष्क्रिय बनाउन नेपाल सरकारलाई निर्देशन दिएको छ। सन्दीप धरौटीमा रिहा भए पनि उनले देश छाड्न पाउने छैनन्।

त्यसैगरि सन्दीपले काठमाडौं उपत्यका छाड्न पनि जिल्ला प्रशासनसँग अनुमति लिनुपर्ने छ। उनले उपत्यका छाड्दा आफ्नो प्रायोजन, जाने र आउने मिति जानकारी गराउन पर्ने पनि आदेश दिइएको छ।

एक नाबालिकालाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । जिल्ला अदालतको आदेशविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए ।

तर सन्दीपविरुद्धको बलात्कार मुद्दा भने जिल्ला अदालत काठमाडौंमा विचाराधीन अवस्थामा छ ।