सभामुखमा एमालेका देवराज घिमिरेको उम्मेदवारी, प्रस्तावक नेम्वाङ र समर्थक पाण्डे

काठमाडौं । प्रतिनिधिसभाको सभामुखमा नेकपा एमालेका देवराज घिमिरेले मनोनयन दर्ता गराएका छन् । 

बुधबार दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरस्थित लोत्से हलमा पुगेर घिमिरेले सभामुखमा उम्मेदवारी दर्ता गरेका हुन् ।

उनको प्रस्तावकमा सुवासचन्द्र नेम्वाङ र समर्थकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन‚ रास्वपा सभापति रवि लामिछाने र नेकपा माओवादी केन्द्रका हितराज पाण्डे रहेका छन् ।

सत्ता गठबन्धनका दलहरूबीच सभामुख एमाले र उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टीले पाउने सहमति भएको छ । सभामुख पदका लागि एमाले उपमहासचिव तथा गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, सचिव छविलाल विश्वकर्मा लगायतका नेताहरूले पनि आकांक्षा देखाएका थिए।

पार्टीभित्र योगदान पनि भएको, क्षमता पनि भएको र दलित तथा आदिवासी जनजाति समुदायबाट सभामुख बनाउँदा सन्देशका हिसाबले पनि राम्रो सन्देश जाने हुनाले त्यस लाइनबाट पनि कतिपय एमालेका नेताले गुरुङलाई अगाडि सारेका थिए भने कतिपय नेताले विश्वकर्मालाई अगाडि सारेका थिए। 

तर‚ अध्यक्ष ओली भने पुराना नेता भएको र आफ्नो विश्वास पात्र पनि भएकाले गृहजिल्लाका घिमिरेलाई सभामुखको उम्मेदवार बनाउने पक्षमा थिए।

घिमिरे ०३१ मा झापा विद्रोहपछि राजनीतिक यात्रा सुरु गरेका उनी सुखानी सहिद स्मृति प्रतिष्ठानका अध्यक्ष समेत हुन् । एमालेका स्थायी कमिटी सदस्य रहेका उनी ०५६ मा राष्ट्रिय सभा सदस्य भएका थिए ।

०७५ मा नेकपाको प्रदेश १ को अध्यक्ष, ०७८ मा भएको एमालेको दशौँ राष्ट्रिय महाधिवेशनबाट उनी स्थायी कमिटी सदस्य भएका थिए । उनी अहिले पनि एमाले प्रदेश १ का इन्चार्ज हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here