स्मार्टफोनको पहुँचले ‘डिजिटल’ बैंकिङमा छलाङ, एक महिनामै थपिए ३ लाख ६२ हजार मोबाइल बैंकिङ प्रयोगकर्ता

काठमाडौं, ४ माघ । नेपालमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २ करोड नजिक पुगेको छ ।

बैंक तथा वित्तीय संस्थाको शाखा विस्तार बढेपछि खाता संख्या बढेको र त्यसले मोबाइल बैकिङ कारोबार गर्ने ग्राहक करिब दोब्बरले बढेको राष्ट्र बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको तथ्याङ्कको पछिल्लो अपडेट अनुसार देशभरबाट एक करोड ९७ लाख ६६ हजार ४१५ सय जनाले मोबाइल बैंकिङ लिएका छन् ।

एकै व्यक्तिका नाममा धेरैवटा बैंक अकाउन्ट हुन सक्ने भएकाले धेरै देखिएको हो । एक महिनामै ३ लाख ६२ हजार ७३५ जना ग्राहक थपिएका छन् । कात्तिक महिनासम्ममा यो संख्या १ करोड ९४ लाख ३ हजार ६८० सय रहेको थियो ।

ग्राहकको सहजता र क्यासलेस कारोबारको सबैभन्दा महत्वपूर्ण माध्ययम पनि मोबाइल बैंकिङ हो। स्मार्टफोनको पहुँच र मोबाइल डेटाको उपलब्धताले मोबाइल बैंकिङ सेवा वृद्धि भइरहेको छ ।

पछिल्लो समय मुलुकमा स्मार्टफोनको पहुँचमा वृद्धि भइरहेको छ । सस्तो र विदेशबाट आफन्तले स्मार्टफोन पठाउने भएकाले गाउँगाउँका उपभोक्ताले स्मार्टफोन प्रयोग गरिरहेका छन् ।

त्यसैगरी, मोबाइल सेवा प्रदायकले डेटा प्याक उपलब्ध गराइरहेका छन् । सस्तो दरमा उपलब्ध भएका डेटा प्याकले पनि उपभोक्तालाई मोबाइल बैंकिङप्रति आकर्षण गरिरहेको छ ।

योसँगै बैंकहरुले पनि मोबाइल बैंकिङ विस्तारको लागि विभिन्न प्रयास गरिरहेका छन् । डेटा प्याकको उपलब्धता र स्मार्टफोनको पहुँच बढेसँगै मोबाइल बैंकिङ चलाउनेको संख्या दिनप्रतिदिन बढेको छ ।

नेपालमा सन् २००५ मा पहिलो पटक मोबाइल बैंकिङको सुरुवात भएको थियो। स्ट्यान्डर्ड चाटर्ड बैंकले नेपालमा यो सेवाको सुरुवात गरेको थियो ।

स्ट्यान्डर्ड चाटर्ड बैंकले यो सेवाको सुरुवात गर्दा एसएमएस बैंकिङका रूपमा आफ्नो खातामा भएको हेरफरेका बारेमा जनाकारी गराउने सुविधाको विकास गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here